किसानका लागि आएको सरकारी अनुदानको रासायनिक मल व्यापारीको गोदामबाट बरामद भएको छ । जिल्लास्थित अनुगमन टोलीले बिहीबार सदरमुकाम गाईघाट बजारभन्दा ५ किलोमिटर टाढाको गोदामबाट अनुदानको मल बरामद गरेको हो ।
अनुदानको मल विक्री वितरण भईरहेको सूचनाका आधारमा जिल्ला अनुगमन संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले छापा मार्दा त्रियुगा नगरपालिका ९ राजाबासस्थित एक निजी व्यापारीको गोदाममा भेटिएको हो । सहायक सिडिओ विक्रम पाण्डे नेतृत्वको अनुगमन टोलीले राजाबासस्थित खार्पाली एग्रो एन्ड फिड सप्लायर्सबाट सो मल बरामद गरेको हो ।
टोलीले सो सप्लायर्सबाट रासायनिक मल युरिया १४ बोरा, डिएपी १० बोरा तथा पोटास ७ बोरा गरि जम्मा ३१ बोरा बरामद भएको जनाएको छ । अनुगमन टोलीले बराबद गरेको मल त्रियुगा नगरपालिकालाई बुझाएको संयोजक पाण्डेले बताए । उनका अनुसार कृषकलाई अनुदानमा बिक्रीवितरण गर्नुपर्ने मल गैरकानुनीरूपमा निजी व्यापारीले बेचविखन गरिरहेको सूचना पाएर जाँदा फेला परेको हो ।
नगरबासीलाई अनुदानमा वितरण गर्नका लागि त्रियुगा नगरपालिकाले मल आपूर्ति गर्ने गरेको भए पनि चोरी तस्करीबाट बजारमा पुग्ने गरेको गुनासो यसअघिदेखि नै आउने गरेको थियो । अनुदानको मल कृषकले माग्दा नभेट्ने तर, बजारमा भने खुलेआम बिक्री वितरण हुने गुनासो आएपछि बजार अनुगमनमा कडाई गर्न नगरबासीले माग गरिरहेका छन् ।
प्रकाशित: १७ वैशाख २०८३ २०:०४ बिहीबार





