७ वैशाख २०८१ शुक्रबार
प्रविधि

आजदेखि अनलाइन नक्सा पास

काठमाडौं- घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने महानगभित्र हुनुपर्दछ।

काठमाडौं महानगरपालिकाले आजबाट महानगरभित्रका ३५ वटै वडामा विद्युतीय नक्सा पास प्रणाली सञ्चालनमा ल्याएको हो। मंसिरबाट ७ वटा वडा कार्र्यालयबाट नमुनाको रुपमा शुरु गरेको सेवा आजबाट भने सबै वडामा सञ्चालन गरिएको महानगरले जनाएको छ।

समयको माग, भवनसंहिता पालना र नक्सा बनाउने प्रक्रिया पारदर्शी गर्न महानगरले यस्तो प्रक्रियाको थालनी गरेको हेा। 'समयको मागअनुसार नक्सा पासको शैलीलाई बदलेका हौं। शुरुमा ७ र त्यसपछि थप ७ वडामा थालेको कार्य आजबाट भने सबै ३५ वटै वडामा सञ्चालन गरेका छौं,' महानगर नक्सा शाखाका विभागिय प्रमुख रविन्द्र पौडेलले नागरिकसँग भने, 'आज सार्वजनिक विदा भएकाले भोली (आईतबार)बाट भने सबै वडामा सञ्चालन हुनेछ।'

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्तिले घरमै बसेर काम गर्न सक्छ। स्वयम व्यक्ति आएर लाम बसिरहनु नपर्ने र फाईल बोकेर दौडिरहन नपर्ने भएकाले प्रभावकारी भएपछि महानगरभरी सोही प्रणाली लागू गर्न लागिएको पौडेलले जानकारी दिए।  पौडेलका अनुसार विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा महानगरलाई पनि तथ्याङ्क राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुन्छ।

सेवाग्रहीले भने विद्युतीय प्रणाली झन्झटिलो भएको बताएका छन। कम्प्युटरको सर्भर नहुने, नेटले ढिलो काम गर्ने र लोडसेडिङको समस्याले गर्दा विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा हैरनी खेप्नु परेको महानगरबाट डिजाइनको काम गर्ने इजाजत प्राप्त व्यक्ति तथा कन्सल्टेन्ट रामप्रसाद सापकोटाले बताए। 'पहिलाको कागजी प्रणाली भन्दा पनि ढिलो छ। कहिले नेट, कहिले विद्युत हुँदैन,' सापकोटाले भने, 'सहज हुनपर्ने तर अनलाईन प्रणाली पहिलाको भन्दा झन्झटिलो छ।' उनका अनुसार एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा फाईल जान घण्टौं लाग्ने तथा समयमा अपडेट नहुने गरेको छ। नक्सा शाखाका विभागीय प्रमुख पौडेल भने सापकोटाको कुरा स्विर्कान तयार छैनन्। पौडेलले भन्छन, 'अनलाईन नक्सा पास प्रणाली जान्नेलाई श्रीखड हो भने नजान्नेलाई खुर्पाको विँड हो,' उनी थप्छन, 'सिस्टममा बसेर काम गर्न नचाहनेको लागि झन्झटिलो भएको होला।' अनलाईनमार्फत फाईल पठाएपछि घरमै बसेर आफ्नो फाईलको बारेमा जानकारी लिन सकिने भएता पनि सेवाग्रही भने बारम्बार कार्यालय नै आईरहेकाले झन्भि्कटिलो भए झै लागेको हुन सक्ने पौडेलको अनुमान छ। समय र देशको परिस्थितीलाई भने बुझ्नपर्ने पौडेलले सुल्झाए।

महानरपालिका १४ कंलकीका उत्तम पाण्डेले पनि अनलाईन प्रणाली झन्झटिलो रहेको सुनाए। उनका अनुसार पहिलाको तुलनामा समय बढी लाग्ने गरेको छ।

महानगरलाई कागज बिहीन बनाउने र स्मार्ट सहरको रुपमा विकास गर्ने योजना अर्न्तगत महानगरपालिका, संयुक्त राष्ट्रसघीय विकास कोष र संयुक्त अधिराज्य वेलायत विकास कोष (यूकेएड)को संयुक्त सहयोगमा ४ करोड रुपैयाँमा अनलाइन नक्सा पास प्रणाली थालेको हो। तीन वर्षसम्म परिक्षणकाल पश्चात गत मंसिरदेखि कार्यान्वयनमा आएको प्रणाली आजबाट भने महानगरभरी सञ्चालन हुँदै छ।

के हो अनलाइन नक्सा पास

इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर 'अप्सन' र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन्। ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ।

इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई प्रोग्रामको 'युजर आईडी र पासवर्ड' अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, मालपोत तिरेको रसिद, नापीनक्साजस्ता घरजग्गामा सरोकार राख्ने कागजपत्र स्क्यान गरेर सबै फाइल 'एटयाच' गरी पठाईन्छ।

त्यसपछि डिजाइन डेस्कबाट डकुमेन्ट रजिस्ट्ेरसन डेस्कमा आइपुग्छन्। जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इन्जिनियरले जाँच गर्छन्। यसपछि इन्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन। जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको नगरेको हेरिन्छ। सबै ठीक भएपछि 'एक्ज्युकेटिभ डेस्क' मा पठाईन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ। यसपछि 'रेभिन्यु डेस्क' हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भई वडा डेस्कमा जान्छ। वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँसगरी सँधियारको दाबीविरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ। यी सबै प्रक्रिया पूरा गरी वडा डेस्कले अपलोड गरेर फेरि केन्›मा पठाइदिन्छ र त्यपछि नक्सा पास हुन्छ।

प्रकाशित: २ श्रावण २०७३ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App