७ वैशाख २०८१ शुक्रबार
प्रविधि

सस्तैमा छिटो दौडन तयार रहनुस्

काठमाडौं- 'थ्री जी' का कमजोरीबाट हैरान हुनुहुन्छ? नआत्तिनुस्, इन्टरनेट उपभोक्तालाई झन्झटमुक्त सुविधा बाँड्न चौथो पुस्ताको सेवा अर्थात् 'फोर जी' छिट्टै तपाईंको हातमा आइपुग्दै छ।

सरकारले ढिलोमा तीन महिनाभित्र इन्टरनेट उपभोक्तालाई अत्याधुनिक 'फोर जी' सेवा उपलब्ध गराउँदै छ। यो सेवा अहिले चल्तीमा रहेको तेस्रो पुस्ता ('थ्री जी') मोबाइल नेटवर्कभन्दा झन्डै पाँच गुणा छिटो चल्नेछ।

सूचना तथा सञ्चार मन्त्रालयले दुई साताभित्रै फ्रिक्वेन्सी नीति परिमार्जन गरी यस्तो सुविधा दिन लागेको हो। प्राविधिकका अनुसार 'फोर जी' छिटो मात्र नभई सस्तो पनि हुनेछ। सरकारी चौथो पुस्ताको (फोर जी) मोबाइल नेटवर्क सञ्चालन अनुमति तयारीसँगै उपभोक्ताका लागि नेपाल दूरसञ्चार कम्पनी तथा एनसेलले पनि यो सेवा प्रदान गर्ने तयारी थालिसकेका छन्।

'टु जी' को इभोलुसन थ्री जी र थ्री जीको इभोलुसन फोर जी हो,' नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल भन्छन्, 'यो सेवा थि्रजीभन्दा छिटो हुनेछ।'

'फोर जी' नेटवर्कको अनुभव बेग्लै मजाको हुने एनसेलका प्रबन्ध निर्देशक सिमन पर्किङ्स बताउँछन्। यस्तो सेवा सञ्चालन गर्नु नेपालका ग्राहकलाई अति आवश्यक भएको भन्दै यसबाट गुणस्तरीय सेवा सस्तो शुल्कमा प्रयोग गर्न सकिने उनको भनाइ छ।

'थ्री जी' चलाइरहेका उपभोक्ताले 'फोर जी' नेटवर्क मजा लिन भने सपोर्ट गर्ने मोबाइल सेट आवश्यक पर्छ। फोर जी नेटवर्क चलाउन यसलाई सपोर्ट गर्ने केही महँगो मोबाइल सेट चाहिन सक्छ। 'हामीले चलाइरहेका स्मार्ट फोनमध्ये १० हजारभन्दा माथिको मोबाइलले फोर जी सेवा सपोर्ट गर्न सक्छ,' अर्यालले भने, 'फोर जी सपोर्ट गर्छ कि गर्दैन भनेर मोबाइल सेटमा रहेको फिचरबाट थाहा पाउन सकिन्छ।' 

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको रेडियो फ्रिन्वेन्सी निर्धारण समितिले दुई साताभित्र परिमार्जित नीति मस्यौदा पारित गरेपछि फोर जी नेटवर्क सञ्चालनको बल टेलिकम सेवाप्रदायक कम्पनीको 'कोर्ट'मा पुग्नेछ।

हाल सञ्चालनमा रहेका छवटा टेलिकम कम्पनीमध्ये लगभग सबै (९५ प्रतिशत) उपभोक्ता रहेका नेपाल टेलिकम र एनसेलले जति छिटो सेवा सञ्चालन गर्नेछन्, त्यति छिटो उपभोक्ता लाभान्वित हुनेछन्।

सरकारले 'फोर जी' मोबाइल नेटवर्क सञ्चालन गर्ने अनुमति दिएपछि कति समयमा कम्पनीहरुले सेवा दिन सक्छन् त? सेवाप्रदायकका दाबीअनुसार एनसेलका उपभोक्ताले सबैभन्दा पहिला फोर जी सेवाको मजा लिन पाउनेछन्। नेपाल टेलिकमका उपभोक्ताले भने ४/५ महिना कुर्नुपर्नेछ।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलले लाइसेन्स पाएको दुई महिनामै 'फोर जी' नेटवर्क सञ्चालन गर्ने बताएको छ। अहिलेको नेटवर्कमा केही प्राविधिक उपकरण जोडेपछि 'फोर जी' सेवा सञ्चालन गर्न सकिने एनसेलका प्रबन्ध निर्देशक सिमोन पर्किङ्सले बताउँछन् । 

'फोर जी सेवा सञ्चालन गर्न हामी आतुर छौं,' उनले भने, 'हामी बढीमा दुई महिनाभित्र यो सेवा सञ्चालन गर्न सक्छौं।' केही प्राविधिक उपकरण जोडेपछि उक्त सेवा सञ्चालन गर्न सकिने र त्यसमा धेरै समय नलाग्ने एनसेलको भनाइ छ।

नेपाल टेलिकमले पनि केही प्राविधिक उपकरण जोडेपछि फोर–जी सेवा सञ्चालन गर्न सकिने जनाएको छ। टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले फोर जी सेवा सञ्चालन गर्न लाइसेन्स पाएपछि ४–५ महिना लाग्ने बताए। 'आवश्यक उपकरण खरिद गर्न केही समय लाग्छ,' अधिकारीले भने, 'अन्य पूर्वाधार भने तयारी अवस्थामा छ।'

अधिकारीका अनुसार 'फोर जी' सेवा सञ्चालन गर्न कोर नेटवर्क र रेडियो नेटवर्क उपकरण आवश्यक पर्छ। अहिलेको पूर्वाधारमा ती उपकरण जोडेपछि मात्र सेवा सञ्चालन गर्न सकिन्छ। चीनबाट ल्याउनुपर्ने उपकरण खरिद प्रक्रियामा केही समय लाग्ने टेलिकमको भनाइ छ। उक्त उपकरण खरिदका लागि कम्तीमा ४५ दिने सूचना प्रकाशित गर्नुपर्छ। त्यसपछिको खरिद प्रक्रियाले पनि केही समय लिने उनको भनाइ छ।

खरिद ऐनको संशोधन भइरहेकाले नयाँ नियमअनुसार 'फास्ट ट्र्याक' बाट सामान खरिद गर्न पाइए सेवा सञ्चालन छिटो हुने अधिकारीको भनाइ छ। सामान ल्याएपछि समय नलाग्ने उनले बताए। 'फोर जी' सेवा परीक्षणलगायत कामबाहेक अन्य पूर्वाधार भने अहिलेकैले गर्ने कम्पनीहरूको भनाइ छ। टावर पावर, ब्याक हल पावरलगायत अहिलेकै पूर्वाधारको प्रयोग हुनेछ।

'फोर जी' सेवा सञ्चालनका लागि विद्यमान फ्रिक्वेन्सी नीति परिमार्जन गर्नुपर्नेछ। टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले उक्त नीति परिमार्जन गरिसकेको निर्देशक पुरुषोत्तम खनालले बताए। परिमार्जित नीतिको मस्यौदा स्वीकृतिका लागि सूचना तथा सञ्चार मन्त्रालय पठाइसकिएको छ।

मन्त्रालयले परिमार्जित मस्यौदा स्वीकृत गरी 'फोर जी' सेवा सञ्चालन गर्न अनुमति दिनेछ। उक्त मस्यौदा पारित गर्न कम्तीमा १०–१२ दिन लाग्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए।

'मस्यौदा पारित गर्न कम्तीमा पाँचवटा मन्त्रालयसँग समन्वय गर्नुपर्छ,' थपलियाले भने, 'कम्तीमा १०–१२ दिन त लाग्छ।'

फ्रिन्वेन्सी निर्धारण समितिले दुई साताभित्र नीति पास गर्ने हो भने एनसेलको भनाइअनुसार असोजमा फोर जी सेवा सञ्चालन हुने देखिन्छ। चीनबाट सामान ल्याउन कम्तीमा १५ दिन लाग्ने र त्यसपछि प्राविधिक परीक्षण गरेपछि फोर जी नेटवर्क सञ्चालन गर्न सकिनेछ।

देशमा हाल नेपाल टेलिकम र एनसेलबाहेक युनाइटेड टेलिकम, एसटिएम टेलिकम, स्मार्ट टेलिकम र नेपाल स्याटलाइटले दूरसञ्चार सेवा दिइरहेका छन्। अन्य टेलिकम कम्पनीको प्रयोगकर्ता अत्यन्तै न्यून छन्।    

के हो 'फोर जी'?

'फोर जी' भन्नाले मोबाइल नेटवर्कको चौथो पुस्ता (फोर्थ जेनेरेसन) हो। अहिले नेपालका दूरसञ्चार सेवा प्रदायकले तेस्रो पुस्ता अर्थात् 'थ्री जी' नेटवर्कमार्फत मोबाइल सेवा दिइरहेका छन्। 'थ्री जी' बाट 'फोर जी' मा जानुको मुख्य उद्देश्य स्मार्ट फोन, ट्याब्लेट, ल्यापटपमा छिटो, सस्तो र अझ विश्वसनीय ब्रोडब्यान्ड इन्टरनेट सञ्चालन गर्नु हो। 'फोर जी' शब्दका पछाडि 'एलटिई' भनेर पनि जोडिन्छ जसको अर्थ 'लङ टर्म इभोलुसन' हो।

एजेन्सीहरूका अनुसार 'फोर जी' सेवा 'थ्री जी' भन्दा पाँच गुणा छिटो चल्छ। भारतमा सन् २०१२ अप्रिलमै 'फोर जी' सेवा सञ्चालनमा ल्याइएको थियो। 'फोर जी' को पहिलो प्रयोग दक्षिण कोरियामा सन् २००७ मा भएको पाइन्छ भने फोर जी (एलटिई) भने सन् २००९ मा नर्वे, स्विडेनलगायत देशमा सञ्चालन भएको थियो।

प्राविधिक रुपमा फोर जी सेवा सञ्चालन हुने ब्यान्ड पनि फरक हुनसक्छ। 'थ्री जी' र 'फोर जी' को स्पेक्ट्रम ब्यान्ड फरक छ। हाल 'थ्री जी' सेवालाई २१ मेगाहर्ज ब्यान्डमा सञ्चालन भइरहेको छ। 'फोर जी' १८ सय मेगाहर्ज ब्यान्डमा दिने भन्ने सिफारिस भएको छ भने ७ सय र २६ सय नयाँ मेगाहर्ज खुला गरेर पनि दिने कुरा भइरहेको प्राधिकरणका प्रवक्ता अर्यालले जनाए। ९ सय मेगाहर्ज ब्यान्डमा थ्री जी सञ्चालन भइरहेकामा प्राधिकरणले १८ सय मेगाहर्ज ब्यान्डमा 'फोर जी' सञ्चालन गर्न मन्त्रालयमा सिफारिस गरेको उनले जानकारी दिए। 'थ्री जी' सपोर्ट गर्ने मोबाइलले 'फोर जी' नेटवर्क सपोर्ट नगर्न सक्छ। अर्यालका अनुसार 'थ्री जी' भन्दा 'फोर जी' फरक सेवा भएकाले मोबाइल सेट पनि त्यही किसिमको चाहिन्छ।

प्रकाशित: २६ असार २०७३ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App