४ वैशाख २०८१ मंगलबार
प्रविधि

कमजोर सर्भर र सीमित ब्यान्डविथले सरकारी वेबसाइटमा समस्या

राहदानी विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै विभागको वेबसाइटमा अत्यधिक चाप भएकाले राहदानी आवेदनका लागि ‘अप्वाइन्टमेन्ट डेट’ को नियमित समय परिवर्तन गरेको छ।

विभागले गत साउन १७ देखि दैनिक ११ बजे ‘अप्वाइन्टमेन्ट डेट’ को बुकिङ खोल्ने गरेकोमा मंगलबारदेखि दिउँसो ३: ३० मा मात्रै बुकि खोल्ने निर्णय गरेको हो। विभागले बुकि खुला गर्ने समय र प्रायः जिल्ला र एकाइका प्रशासन कार्यालयले बुकि खुला गर्ने समय एउटै भएकाले चाप थप बढेको विभागले जनाएको छ। तर सूचना प्रविधिसम्बन्धी विज्ञहरूले भने सरकारी निकायले प्रयोग गर्ने सर्भर र सीमित ब्यान्डविथको प्रयोगका कारण वेबसाइट लग इन गर्दा समस्या हुने बताउँछन्।

सरकारी वेबसाइटमा ठूलो चाप नहुने भन्दै कम गुणस्तरीय र सस्तो सर्भर र सीमित ब्यान्डविथ प्रयोग गर्ने भएकाले एकैपटक चाप बढ्दा समस्या आउने गरेको सूचना प्रविधिविज्ञ विजय लिम्बु बताउँछन्। ‘एकैपटक धेरै प्रयोगकर्ताले वेबसाइट प्रयोग गर्न सक्छन् भन्ने कुराको बेवास्ता गर्नु र कमजोर, सस्तो र सीमित ब्यान्डविथ प्रयोग गर्नु नै सर्भरमा समस्या आउनुको मुख्य कारण हो। जुन नेपालका अधिकांश सरकारी वेबसाइटमा देखिन्छ’, लिम्बुले भने। सीमित ब्यान्डविथको प्रयोग गर्दा क्षेमताभन्दा बढी प्रयोगकर्ताले वेबसाइट लग इन गर्नेबित्तिकै समस्या हुने जानकार बताउँछन्।

‘राहदानी विभागलगायतका सरकारी निकायले सर्भरको हार्डवेयर राम्रो बनाउने हो भने प्रयोगकर्ताको संख्या बढेसँगै त्यसको क्षमता पनि बढ्ने हार्डवेयरहरू पनि बनेका छन्। तर नेपालका सरकारी निकायमा ज्ञानको कमीले हो या अन्य कारणले त्यस्तो भएको देखिँदैन’, लिम्बुले भने। अहिले एकै मिनेटमा दशौं हजार वा लाखसम्म प्रयोगकर्ता धान्ने सर्भर उपलब्ध भए पनि त्यसको प्रयोग नगरी सस्तो र सीमित स्रोत साधन प्रयोग गर्दा यस किसिमको समस्या दोहोरिइरहने विज्ञहरू बताउँछन्। त्यसका लागि अहिले उपलब्ध उच्च गुणस्तरका सर्भर र पर्याप्त ब्यान्डविथको प्रयोग गर्नुपर्ने जानकारहरू बताउँछन्।

प्रकाशित: ६ पुस २०७९ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App