राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा दीर्घकालीन समाधानका लागि सर्वपक्षीय संवादको पहल गर्न सरकारसँग माग गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा एक युवाको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएको भन्द दुःख व्यक्त गरिएको छ।
विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
राप्रपाले घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र पारदर्शी रूपमा छानबिन गरी हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने कार्यमा संलग्न जोसुकैलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएको छ । दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने पार्टीको भनाइ छ।
विज्ञप्तिमा विशेषगरी तराई–मधेसका विभिन्न क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला पटक–पटक तनाव, हिंसा तथा साम्प्रदायिक विवाद हुने क्रमप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। यस्ता घटनाको कारण, पृष्ठभूमि, सुरक्षा व्यवस्थाको अवस्था तथा प्रशासनिक उत्तरदायित्वको गहिरो अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न राप्रपाले सरकारसँग आग्रह गरेको छ।
पार्टीले यस्ता घटना दोहोरिन नदिन सर्वपक्षीय समिति गठन गरी तत्काल संवादको थालनी गर्न, धार्मिक तथा सांस्कृतिक अधिकारको संवैधानिक संरक्षण सुनिश्चित गर्न तथा नागरिकले निर्भयपूर्वक आफ्नो धर्म र परम्पराको अभ्यास गर्न पाउने वातावरण निर्माण गर्न पनि सरकारलाई आग्रह गरेको छ।
प्रकाशित: १२ श्रावण २०८३ १४:१८ मंगलबार



-600x400.jpg)

