१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले पहिलो चरणमा ४० युवालाई विपद् व्यवस्थापन तालिम दिने

नेपाली कांग्रेसले प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा दक्ष युवा जनशक्ति तयार गर्ने उद्देश्यसहित पहिलो चरणमा ४० युवालाई विशेष प्रशिक्षण दिने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आगामी श्रावण १५ देखि १७ गतेसम्म काठमाडौंमा ‘विपद् व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षण’ सञ्चालन हुने भएको हो।

प्रतिष्ठानको श्रावण १० र ११ गते बसेको छैठौं बैठकले प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार इच्छुक व्यक्तिमध्ये छनोट गरिएका ४० जना युवालाई पहिलो चरणको प्रशिक्षणमा सहभागी गराइने भएको छ।

तालिममा प्राकृतिक विपद्का विषयमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सीप र व्यवहारिक अभ्याससमेत गराइने कांग्रेसले जनाएको छ। विपद् व्यवस्थापन क्षेत्रमा लामो समयदेखि स्वदेश तथा विदेशमा कार्यरत विषय विज्ञहरूले सहभागीलाई प्रशिक्षण दिनेछन्।

कांग्रेसका अनुसार प्रशिक्षणमार्फत विपद् आउनुअघि आवश्यक सचेतना फैलाउने, जोखिम न्यूनीकरण गर्ने तथा विपद्को समयमा प्रभावकारी प्रतिकार्य गर्न सक्ने दक्ष स्वयंसेवक तयार गर्ने लक्ष्य राखिएको छ।

नीति प्रतिष्ठानले आगामी दिनमा ‘हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक’ तयार गर्ने अवधारणाअनुसार कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको छ।

यसअन्तर्गत देशभर विपद्का बेला परिचालन गर्न सकिने दक्ष र प्रशिक्षित युवा समूह निर्माण गरिने बताइएको छ।

प्राकृतिक विपद्का घटना बढ्दै गएको अवस्थामा स्थानीयस्तरमै तत्काल उद्धार, राहत र व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्ने जनशक्ति आवश्यक रहेको भन्दै कांग्रेसले यस्तो प्रशिक्षणलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८३ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App