यो एप माइसेक डट वर्कले डट इयुबाट डाउनलोड गर्न सकिने एलेनले बताए । 'यो एपले मोबाइलको ब्याकग्राउन्डमा आफ्नो काम गरिरहेको हुन्छ । जब भूकम्प आउँछ, त्यसअगावै यसले सूचना प्रवाह गर्छ,' एलेनले भने । उनका अनुसार उक्त सूचना पहिला सर्भरमा पठाउनेछ । त्यसलगत्तै सर्भरद्वारा उनीहरूले भूकम्प आउनेबारे सूचना प्रवाह गर्छ । सूचनाका आधारमा भूकम्पको तीव्रताबारे पनि पता लगाउन सकिने एलेनको दाबी छ ।
'भविष्यमा आउनसक्ने भूकम्पको सूचना आफ्ना प्रयोगकर्तालाई दिएर सावधानी अपनाउन मद्दत गर्ने हाम्रो उद्देश्य हो,' उनले भने । यो एपले बाहिरी रूपले हुने हलचल र जमिनभित्र हुने हलचल छुट्याउन सकिने एलेनले बताए ।
ठूलो तीव्रताको भूकम्प आउन केही समय लाग्ने र त्यसअघि नै जमिनको हलचल सुरु भइसक्ने हुँदा यसबारे सूचना प्रवाह गर्न सकिने उनको दाबी छ । यसले भूकम्पबाट हुनसक्ने खतरा महसुस गर्दै मानिसहरू सुरक्षित स्थानमा जान सक्नेछन् ।
भूकम्पबाट बच्न केही सेकेन्ड नै काफी भएको एलेनले बताए । 'भूकम्पबाट जोगिन केही सेकेन्ड नै काफी हुन्छ । यही छोटो समयमा मानिसहरू सुरक्षित स्थानतर्फ जान सक्छन्,' उनले भने । उनका अनुसार १० किलोमिटर क्षेत्रभित्र पाँच रेक्टरस्केलको भूकम्पबारे सूचना पाउन सकिन्छ । वैज्ञानिकहरूका अनुसार भूकम्पबारे सूचना पहिल्यै दिनसके पचास प्रतिशतले क्षति कम गर्न सकिन्छ ।
प्रकाशित: ६ फाल्गुन २०७२ ००:०९ बिहीबार





