हरिहरपुरगढी गाउँपालिका–३ घन्टेकी फूलमाया राईको विवाह १६ वर्षको उमेरमा सोही वडाकै चन्द्रबहादुर राईसँग भएको थियो। विवाहको करिब तीन वर्षपछि उनले पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। छोरी जन्मले परिवारमा खासै उत्साह जगाएन। चन्द्रबहादुर परिवारका एक्ला छोरा थिए। उनलाई लाग्थ्यो, वंश कायम राख्न छोरै चाहिन्छ। पहिलो सन्तान भएको डेढ वर्ष पूरा नहँुदै दोस्रो सन्तानका रूपमा फेरि छोरी नै जन्मिएपछि परिवारमा निराशा बढ्यो। एकातिर सासू, ससुरा र पति छोराको अभावमा वंश सकिने भन्दै चिन्तित हुन थाले, अर्कातिर फूलमाया स्वयले पनि छोरा नजन्मँदा अभागी महसुस गर्न थालिन्। दुई वर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चलिरह्यो। कारण थियो, छोराको जन्म नहुनु। छोराकै आसमा फूलमायाले आठ छोरी जन्माइन्।