८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

जाजरकोट– अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ। ११ घन्टाको यात्रा गरेर सदरमुकामबाट गएको सेनाको टोलीले मंगलबार साँझ ७ बजेतिर बम डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार सेनाले एउटा सकेट बम र अर्काे जिआइपाइप र स्टीलको वट्टालाई नियन्त्रणमा लिएर हटाएको हो। 

गएराति करिब १२ बजेतिर राखिएको उक्त बम डिस्पोजको लागि नेपाली सेनाको एक टोली मंगलवार विहान ८ वजे खलंगाबाट वारेकोटतर्फ गएको थियो। सेनाको ज्वाला दल गणका सहसेनानी जयराम घिसिङको नेतृत्वमा गएको  टोलीले बम डिस्पोज गरेको हो। सेनाको टोली वारेकोट नपुगेसम्म इलाका प्रहरी कार्यालय रामीडाडाका प्रहरीहरुले बम राखिएको क्षेत्रमा सुरक्षा दिएका थिए। वम राखेको कुरा प्रहरी र स्थानीयले विहान ६ बजे मात्र थाहा पाएका थिए।    

गाउँपालिकाका अध्यक्ष शाहको कार्यकक्ष प्रवेश गर्ने ढोकामा बम राखेका कारण मंगलबार गाउँपालिकाको काम पुरै ठप्प रह्यो।
अध्यक्ष शाहले मंगलवार  एक विज्ञप्ति जारी गर्दै आफनो कार्यकक्ष प्रवेश गर्ने  ढोकामा राखिएको बमका कारण नडराउन र संयम भएर प्रस्तुत हुन जनप्रतिनिधि, सर्वसाधारण र कर्मचारीलाई आग्रह गरेका छन्। बम राख्ने पक्षलाई पनि  डरधम्की भन्दा वार्ता र सम्वादको बाटो रोज्न आग्रह गरेका छन्। 

प्रकाशित: १० असार २०७६ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App