नेकपा एमालेले काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवाना नतिर्ने भएको छ । ‘औचित्यहीन चिर्कटो’ भन्दै एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने जनाएको छ ।
‘हाम्रो कार्यक्रम सकिएकै छैन । चिर्कटो फेसबुकमा हालेर स्टन्टबाजी गरियो । कार्यक्रम सकिए लगत्तै हाम्रा स्वयंसेवकले कार्यक्रम स्थल सरसफाइ पनि गरिसकेका छन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘यस्ता वाइह्यात चटकको एमालेले सम्बोधन गर्दैन ।’
एमालेले शुक्रवार अस्थिरता र अराजकताविरुद्ध भन्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । भद्रकालीबाट निकालिएको र्याली दरबारमार्गमा पुगेको ‘जागरण सभा’मा परिणत भएको थियो ।
एमालेको सभा सकिए लगत्तै काठमाडौं महानगरको नगर प्रहरी बलले ‘जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको’ भन्दै फोहोर मैला व्यवस्थापन ऐन,२०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना तोकेको थियो ।
महानगरका मेयर बालेन्द्र साहकै आदेशमा सस्तो स्टन्टबाजीका लागि जरिवाना तोकेको भन्दै एमालेले प्रतिवाद गर्दै आएको छ । एमाले र मेयर साहबिच पछिल्लो समय बेलाबेला विभिन्न विवाद हुँदै आएका छन् ।
महानगरले जरिवाना तोके लगत्तै एमालेका महासचिव शंकर पोखरेलले शुक्रवार राति नै फेसबुकमा लामो स्ट्याटस लेख्दै मेयर बालेन एमालेविरुद्ध परिचालित रहेको भन्दै प्रतिक्रिया दिएका थिए ।
‘काठमाडाैं महानगरका मेयर बालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ,’ महासचिव पोखरेलले लेखेका छन्,‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा ।’ जति वेला जरिवाना पर्चा सार्वजनिक गरियो त्यति वेला एमालेका स्वयंसेवक कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राखिरहेको महासचिव पोखरेलले दाबी गरेका छन् ।
‘तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो,’ पोखरेलले लेखेका छन् ।
मेयर बालेनलाई एमाले आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का नरहेको पनि पोखरेलले लेखेका छन् । ‘जागरण सभा यस प्रकारका स्टन्टबाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि हो,’ उनले अन्तमा लेखेका छन् ।
प्रकाशित: ८ मंसिर २०८१ १४:३५ शनिबार