२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

समर्थकको उत्साहमा थपिएलान् हेम्जा?

एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा करिब दुई वर्षपछि नेपाली सिनियर पुरुष फुटबल टोलीको प्रतिस्पर्धा फर्किदा तयारी अन्तिम चरणमा पुगेको छ । फिफा इन्टरनेसनल विन्डोमा नेपालले दशरथ रंगशालामा आगामी सेप्टेम्बर ६ र ९ मा पाहुना टोली बंगलादेशको आतिथ्यता गर्नेछ । 

नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला रहेको दशरथमा पछिल्लो ६ सय ५५ दिनयता नेपाली पुरुष फुटबल टोलीले खेलेको छैन । सन् २०२३ नोभेम्बर १७ (२०८० मंसिर १) मा नेपाली पुरुष राष्ट्रिय टोलीले अन्तिमपल्ट दशरथ रंगशालामा खेलेको थियो । 

फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत यमनविरुद्धको उक्त खेलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक राजनीतिका कारण दशरथ रंगशालामा पुरुष टोलीको अन्तर्राष्ट्रिय फुटबल हुन सकेको छैन । एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सुरक्षा खतरा देखाउँदै दशरथ रंगशाला फिफा र एएफसीका अधिकारित प्रतिस्पर्धा खेलाउन अनुमति नदिँदा समर्थकले घरेलु मैदानमा पुरुष टोलीको फुटबल हेर्न नपाएका हुन् ।

तर, एन्फाले घरेलु मैदानमा दुई मैत्रीपूर्ण फुटबलका लागि बंगलादेश फुटबल फेडेरेसनसँग गरेको प्रस्ताव दुविधाका बीच स्वीकृति हुँदा नेपाली समर्थकले लामो समयपछि अवसर पाउँदैछन् । फिफा र एएफसीको आधिकारिक अन्तर्राष्ट्रिय खेल आयोजनाबाट भने नेपाल अझै अयोग्य छ । फिफाकै मान्यता प्राप्त खेल भए पनि दुई देश सहमत हुँदा दशरथ रंगशालामा नेपालको पुरुष टोलीको फुटबल फर्किन लागेको हो । यसका लागि एन्फा पनि उत्साहित हुँदा तयारीलाई तीव्रता दिइरहेको छ । एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले पनि दुई देशबीच सहमति हुँदा प्रतियोगिता गर्न सकिने भएकाले यो मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने भएको जानकारी दिए ।

उनले यसका लागि एएफसीको स्वीकृति आवश्यक नपर्ने उल्लेख गरे । मैत्रीपूर्ण खेलका लागि दशरथ रंगशालाको २५ प्रतिशत सिट क्षमता खाली नै राखिनेछ । करिब ढेड महिनादेखि नेपाली राष्ट्रिय टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल र दशरथ रंगशाला फुटबल मैदानमा प्रशिक्षण गरिरहेको छ । मुख्य प्रशिक्षक म्याट रसको प्रशिक्षणमा नेपाली टोलीले प्रशिक्षण गरिरहेको छ । एन्फाले सोमबार दशरथ रंगशालामा पत्रकार सम्मेलनमा आयोजना गर्दै आफ्नो तयारी अन्तिम चरणमा पुगेको उल्लेख पनि गर्‍यो । भिआइपीमा एक हजार दुई सय र साधारणतर्फ आठ हजार टिकट बिक्री गरिने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

दुई मैत्रीपूर्ण फ्लड लाइटमा साँझ ५:३० बजे सञ्चालन गर्ने तयारीमा छ । दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ । यद्यपि, अनलाइन बिक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ । भिआइपीमा एक हजार र सामान्य पारापिटमा पाँच रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले उल्लेख गरेको छ । एन्फाले मैत्रीपूर्ण खेलको मार्केटिङ र डिजिटल अधिकार एड रिलिज प्रालीले पाएको जानकारी दियो । यो मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली आगामी बुधबार नेपाल आइपुग्ने कार्यक्रम छ । बंगलादेशको टोलीबारे नेपाली समर्थकले पनि विशेष चासो दिइरहेका छन् । किनकी इङ्लिस फुटबलमा खेल्ने हेम्जा चौधरी बंगलादेशबाट खेल्न सक्ने चर्चा चलिरहेको छ । 

उनी प्रिमियर लिगको पूर्वक्लब लेस्टर सिटीका स्टार खेलाडी हुन् । जसले यसै वर्षको फेब्रुअरीदेखि बंगलादेशबाट खेल्न थालेका हुन् । पछिल्लो समय गत जुनमा हेम्जाले भुटानविरुद्ध मैत्रीपूर्ण फुबटलमा बंगलादेशबाट खेलेका थिए । बंगलादेशको जर्सीमा तीन खेल खेलेका हेम्जाले भुटानविरुद्ध गोल पनि गरेका थिए । यसपल्ट नेपालमा पनि उनी आउन सक्ने चर्चा चलिरहेको छ । तर, बंगलादेश फुटबल संघले यसबारे पूर्ण जानकारी भने राखेको छैन । यद्यपि, नेपाली समर्थक इङ्लिस फुटबलमा हुर्किएका हेम्जालाई दशरथ रंगशालामा हेर्न पाउने आशामा छन् ।

बंगलादेशको टोलीमा उनको सहभागिताबारे भने अझै अन्योल नै छ । बंगलादेशको टोलीले भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा अभ्यास गर्नेछन् । एन्फाले यो मैत्रीपूर्ण खेलका लागि एक करोड २७ लाख ५८ हजार अनुमानित खर्च हुने उल्लेख गरेको छ । यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ । नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन् । गत मार्चमा फिफा विश्वकप छनोटमा बहराइनविरुद्ध खेलबाट डेब्यू गरेका थिए । त्यसयता उनी टोलीबाट बाहिर थिए । 

नेपाली टोलीको अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक बिष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन् ।

प्रकाशित: १७ भाद्र २०८२ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App