२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

नेपाल प्रिमियर लिग: दुई प्रशिक्षकको भिडन्तमा टमटा प्रभावकारी

पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाई र जगत टमटालाई आ–आफ्ना समयमा नेपाली क्रिकेटका सफल प्रशिक्षकका रूपमा लिइन्छ। नेपालका लागि दुवैले यादगार नतिजा दिएका इतिहास धेरै छन्। नेपाल प्रिमियर लिग (एनपिएल) मा नेपाली राष्ट्रिय टिमका दुई पूर्व मुख्य प्रशिक्षकका टोली सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजबीचको भिडन्त निकै प्रतीक्षा गरिएको थियो।

उनै मोन्टी र टमटाको टोली बुधबार एकआपसमा आमनेसामने हुँदै थिए। घरेलु प्रतिस्पर्धामा यी दुईमध्ये कसको रणनीति प्रभावकारी बन्ला भन्ने चासो हुनु स्वाभाविक हो। नेपाली टोली छाडेपछि मोन्टी काठमान्डुको प्रशिक्षकको जिम्मेवारी लिँदै फेरि फर्किएका हुन्। उनको प्रशिक्षणमा काठमान्डुले पहिलो खेलमा जित पनि आत्मसात् गरिसकेको थियो। पहिलो खेलमा मोन्टीको टोलीले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले स्तब्ध बनाएको हो। उनको टोली दोस्रो खेलमै अर्को बलियो टोली सुदूरपश्चिमको सामना गर्दै थियो।

यो खेल काठमान्डुको आगामी यात्रामा महत्त्वपूर्ण हुने भएकाले सबैको चासो पनि रह्यो। किनकि गत संस्करणको फाइनलिस्टमाथिको जितले काठमान्डुको मनोबल उच्च बन्नेमा दुई मत थिएन। टस जितेर पहिले बलिङ गर्ने काठमान्डुका कप्तान करण केसीको निर्णय सुरुमा सही साबित भयो। किनकि करणले तीन ओभरभित्र तीन विकेट दिलाए।

पावर प्लेमा नै काठमान्डुले चार विकेट लिएपछि करणको निर्णय सही साबित भयो तर अमेरिकाका अलराउन्डर हरमित सिंहलाई रोक्न नसक्दा काठमान्डुको योजना सफल भएन। उनकै अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा जित नै निकाल्यो। काठमान्डुले पहिलो हार बेहोर्‍यो।

सुदूरपश्चिमले उत्कृष्ट पुनरागमन गर्दै काठमान्डुमाथि २९ रनको जित निकाल्यो। राष्ट्रिय टोलीका दुई प्रशिक्षकका टोलीको भिडन्तमा बुधबार टमटाको रणनीति प्रभावकारी साबित भयो। यो जित निकाल्दा हरमितले यादगार प्रदर्शन गरे। मोन्टीले हरमित एसोसिएट क्रिकेटकै उत्कृष्ट क्रिकेटर भन्दै उनको प्रंशसा गरे। उनले अर्धशतकसँगै दुई विकेट लिए। ‘उनी उत्कृष्ट फिनिसर हुन्। टी ट्वान्टीमा दीपेन्द्रसिंह ऐरी पनि उत्कृष्ट छन्। उनले पनि राम्रो खेले। एउटा नेपाली खेलाडीको राम्रो प्रदर्शन हुँदा खुसी लाग्छ,’ मोन्टीले भने।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ४८ रनको मध्यम लक्ष्य दिएको थियो तर, काठमान्डु १६.५ ओभरमा एक सय १८ रनमै अलआउट भयो।

बलिङ र ब्याटिङ गर्दा एक समय काठमान्डु बलियो स्थितिमा देखिन्थ्यो तर, समालिन सकेन र खेल गुमाउन पुग्यो। जितका लागि काठमान्डुलाई ५० बलमा ५५ रन आवश्यक हुँदा ६ विकेट थियो । काठमान्डु बलियो स्थितिमा देखिन्थ्यो तर सदुपयोग गर्न नसक्दा काठमान्डु दोस्रो जितबाट चुक्यो। ओपनर आकाश त्रिपाठीको ३४ रन नै काठमान्डुको सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। मध्यक्रमका ब्याटर जोन सिम्पसनले २४ रन, भीम सार्कीले १२, मिलिन्द कुमारले ११ र सन्नी पटेलले १० रन बनाए। काठमान्डुको सुरुआत राम्रो भएन। दोस्रो ओभरमा नै ओपनर बेन चाल्र्सवर्थ ८ रनमै आउट भए।

हेमन्त धामीले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए। दोस्रो विकेट पनि हेमन्तले नै दिलाए। उनले चौथो ओभरमा भीमलाई आउट गरेका हुन्। पावर प्लेमा तीन विकेट गुमाउँदा काठमान्डुले ५० रन जोड्यो। त्यसपछि चौथो विकेटका लागि सिम्पसन र ओपनर आकाशबीच ४९ रनको साझेदारी बन्यो।

ईशान पाण्डेले ११ औं ओभरमा सिम्पसनलाई एलबिडब्लु सिकार बनाउँदै साझेदारी तोडे। लगत्तै अर्को ओभरमा हरमितले आकाशलाई पनि पभेलियनको बाटो देखाए। ३० बलमा आकाशले एक चौका र दुई छक्का प्रहार गरे। यससँगै ११.५ ओभरमा काठमान्डु ९६/५ को अवस्थामा थियो। खातामा थप २२ रन जोड्दा काठमान्डुले पाँच विकेट नै गुमाउन पुग्यो र दोस्रो खेलमा हार बेहोर्‍यो।

सुदूरपश्चिमको बलिङमा स्कट कुगेलिन, हेमन्त धामी र हरमितले समान दुई विकेट लिए। ईशान, नरेन साउद र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो। हरमितको अर्धशतकीय इनिङमा सुदूरपश्चिम रोयल्सले एक सय ४८ रनको मध्यम लक्ष्य दिएको हो।  सुदूरपश्चिमले निकै खराब सुरुआत गर्‍यो।

काठमान्डुका कप्तान करणले तेस्रो ओभरभित्र नै तीन विकेट लिँदै ठूलो झड्का दिए। उनले ओपनरद्वय जोश ब्राउन र विनोद भण्डारीलाई शून्यमै आउट गरे। त्यसपछि क्रिस लिन (२ रन) पनि करणकै सिकार भए। ३.४ ओभरमा सुदूरपश्चिम ४/३ को नाजुक अवस्थामा पुग्यो। एक छेउबाट आरिफ शेखले इनिङ अगाडि बढाउने प्रयास गरे। चौथो विकेटका लागि उनी र ईशान पाण्डेबीच २३ रनको साझेदारी भयो तर पाँचौं ओभरको अन्तिम बलमा ईशान ११ रनमै आउट भए।

पावरप्लेमा २७ रन जोड्दा सुदूरपश्चिमको चार विकेट गयो। नवौं ओभरमा आरिफ पनि आउट भए । उनी २५ रनमा रासिद खानको एलबिडब्लु सिकार भए। उनको इनिङमा चार चौका मात्र रह्यो। त्यसपछि नरेन साउद ६ रनमा बाउन्ड्री लाइनमा क्याच भपछि सुदूरपश्चिमको छैटौं विकेट पतन भयो। कप्तान दीपेन्द्रसिंह र हरमितबीच महत्त्वपूर्ण साझेदारी बन्यो। यी दुईले सातौं विकेटका लागि ६१ रनको महत्त्वपूर्ण साझेदारी गरे। प्रशिक्षक टमटाले यो इनिङपछि फाइटिङ स्कोर दिन सफल भएको बताए। साथै उनले दीपेन्द्रले आफ्नो भूमिकाअनुरूप काम गरे पनि उल्लेख गरे। १५औं ओभरसम्म काठमान्डुका बलरले दबाब बनाएका थिए। त्यसपछि हरमितले आक्रामक ब्याटिङ गरे।

उनले १९ बलमै अर्धशतक पूरा गरे। अन्तिम पाँच ओभरमा सुदूरपश्चिमले ६७ रन जोड्यो। हरमित र दीपेन्द्रले १६ देखि १८औं ओभरमा क्रमशः आक्रामक ब्याटिङ गरे तर दीपेन्द्र ३९ रनमा १८औं ओभरमा क्याच हुन पुगे। ३० बल खेलेका उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। १९औं हरमित पनि आउट भए र राम्रो योगफल बनाउने सूदूरपश्चिमको लक्ष्य पूरा भएन। हरमितले २० बलमा ५३ रन जोडे। उनले दुई चौका र ६ छक्का प्रहार गरे। अन्तिम दुई ओभरमा सुदूरपश्चिमले १० रन मात्र जोड्दा तीन विकेट गुमायो। काठमाडौंको बलिङमा कप्तान करणले चार विकेट लिए। रासिद, मिलिन्द र सन्नीको नाममा समान दुई विकेट रह्यो।

प्रकाशित: ४ मंसिर २०८२ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App