१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

एएफसी यू-२० महिला एसियन कपमा छनोट हुने नेपालको सपनामा शक्तिशाली उत्तर कोरियाले तुषारापात गरिदिएको छ।

भुटानको थिम्पुमा सम्पन्न छनोट चरणको आफ्नो अन्तिम खेलमा नेपाल तीन पटकको विश्व च्याम्पियन उत्तर कोरियासँग ११-० को भारी गोलअन्तरले पराजित भएको हो।

यो जितसँगै उत्तर कोरिया समूह ‘ए’ को विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एसिया कपका लागि छनोट भएको छ।

खेलमा एकपक्षीय रूपमा हाबी रहेको उत्तर कोरियाले सुरुवाती तेस्रो मिनेटमै गोलको खाता खोलेको थियो। पहिलो हाफमा अधिकांश समय रक्षापंक्तिमा बिताउन बाध्य बनेको नेपालले ४१ मिनेटभित्रै ५ गोल बेहोर्‍यो।

दोस्रो हाफमा थप आक्रामक बनेको उत्तर कोरियाले थप ६ गोल गर्दै जितको अन्तर फराकिलो बनायो। प्रतियोगितामा अपराजित रहेको उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो।

यो हारसँगै नेपालको समूह विजेता बनेर सोझै छनोट हुने सम्भावना समाप्त भएको छ। तीन खेलबाट एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ।

अब नेपालको छनोट हुने झिनो आशा समूहको उपविजेता बन्दै उत्कृष्ट दोस्रो टिमको कोटामा निर्भर रहनेछ। जसका लागि पनि अन्य खेलको नतिजा कुर्नुपर्नेछ।

नेपालको समूह उपविजेता बन्ने सम्भावना आजै हुने भुटान र साउदी अरेबियाबीचको खेलको नतिजामा निर्भर छ। यदि उक्त खेलमा साउदी अरेबियाले भुटानलाई हराउन सक्यो वा बराबरीमा रोक्यो भने मात्र नेपालले समूहको दोस्रो स्थान पक्का गर्नेछ।

नेपालले छनोटको आफ्नो पहिलो खेलमा आयोजक भुटानसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियामाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो।

प्रकाशित: २५ श्रावण २०८२ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App