१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
खेल

एनपिएल–१ मा पुछारको लुम्बिनीको कथा, जो च्याम्पियनलाई हराउँदै प्लेअफ पुग्यो

प्लेअफ समीकरण कस्तो बन्दैछ?

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो सिजनको च्याम्पियन बन्दा लिगको पुछारमा लुम्बिनी लायन्स थियो।  

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेतृत्व गरेको लुम्बिनीका लागि पहिलो सिजन निकै निरासाजनक बितेको थियो। लिगका सात खेलमा जम्मा एक मात्र जित निकाल्दै अंक तालिकामा जम्मा दुई अंक लिएर बिर्सनलायक बिदाइ लिएको थियो।  

कतिसम्म भने ब्याटर चलेको खेलमा बलर नचल्ने, बलर चलेको खेलमा ब्याटर नचल्ने अवस्था लुम्बिनीले ब्यहोर्नुपरेको थियो। बलरले काठमाडौं गोर्खाजलाई १०३ रनको स्कोरमा रोक्दा पनि ब्याटर खेल जिताउन सकेनन्। विराटनगर किंग्ससँग ब्याटरले १९१को पहाड खडा गर्दा बलर चलेनन्।

जसको नतिजा लुम्बिनीका लागि निकै पीडादायी सिजन गुज्रिएको थियो। ती खेलमा कप्तान रोहित पौडेलको प्रदर्शन राम्रै थियो। तर, एक खेलबाहेक अन्य खेल उनको प्रदर्शनले पनि जिताउन सकेन्।  

यसपटक पनि लुम्बिनी लायन्सको प्रदर्शनसँग धेरैको अपेक्षा थिएन। कतिपयले उसलाई प्लेअफमा पुग्नसक्ने टिमका रूपमा पनि आँकेका थिएनन्। त्यस्तो सोच्नेलाई चितवन राइनोजसँग पहिलो जितपछिका लगातार तीन हारले झन्डै सही साबित गर्नेगरी झल्को पनि दिएको थियो। उसले ती तीन खेलमा कर्णाली याक्स, काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग हार ब्यहोरेको थियो। त्यसले लुम्बिनीलाई यसपटक पनि झन्डै बाहिरको बाटो देखाइसकेको थियो।  

तर, शुक्रबारसम्म आइपुग्दा लुम्बिनीले त्यस्तो सोच्नेलाई गलत पुष्टि गरिदिएको छ। पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै उसले आफ्नो क्षमता मात्रै प्रदर्शन गरेन्, प्लेअफको चौथो स्थान पनि सुरक्षित पारेको छ।  

प्लेअफ यात्रा तय गर्दा लुम्बिनीले अघिल्लो सिजनको च्याम्पियन जनकपुर बोल्ट्सलाई पराजित पनि गर्न सफल भयो।  

जनकपुरसँग लुम्बिनीले यो जित निकाल्दा पोखरा एभेन्जर्स र चितवन राइनोजको प्लेअफ जाने सपना पनि तुहिएको छ।  

लुम्बिनी हारेको पहिलो सिजनको च्याम्पियन टोली जनकपुरको हबिगत अघिल्लो सिजनको लुम्बिनी जस्तै बनेको छ। उसले हालसम्म खेलका ६ खेलमा एकमा मात्रै जित निकालेर अंक तालिकाको पुछारमा पुगेको छ।  

प्लेअफमा पुगेको लुम्बिनीले थप अगाडिको यात्रा तय गर्न विराटनगर किंग्स वा काठमाडौं गोर्खाजमध्ये एक टिमसँग एलिमिनेटर खेल खेल्नुपर्नेछ।  

प्लेअफमा स्थान बनाएका टोलीमध्ये सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको छ। हाल दोस्रो स्थानमा १० अंक सहित काठमाडौं गोर्खाज छ। उसले सबै खेल खेलिसकेको छ।  

दोस्रो स्थानकै अर्को दाबेदार विराटनगर किंग्स पनि छ। उसको ६ खेलबाट अंक तालिकामा ८ अंक छ। शनिवार उसले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दैछ। जहाँ फराकिलो जित निकालेर नेट रनरेटमा काठमाडौंलाई उछिन्न सके विराटनगर दोस्रो स्थानमा पुग्नेछ भने काठमाडौं तेस्रोमा झर्नेछ। तर, हार वा सानो जित उसका लागि काठमाडौंलाई उछिन्न पर्याप्त हुनेछैन।  

यस्तोमा काठमाडौं र विराटनगरमध्ये दोस्रो हुनेले सुदूरपश्चिमसँग ‘पहिलो क्वालिफायर’ र तेस्रो हुनेले लुम्बिनीसँग ‘एलिमिनेटर’ खेल खेल्नेछ।

पहिलो क्वालिफायरमा हार्ने र एलिमिनेटरमा जित्ने टोलीबिच ‘दोस्रो क्वालिफायर’ खेल हुनेछ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछन्।  

प्रकाशित: १९ मंसिर २०८२ २०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App