२० मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

मास्क कला प्रदर्शनीमा कोरियाली दूतावासको सहभागिता

नेपाल हस्तकला महासंघद्वारा आयोजित मास्क कला प्रदर्शनीमा नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले आगामी डिसेम्बर ५ (शुक्रबार) मा अतिथिको रूपमा सहभागिता जनाएको छ। पाटन संग्रहालयमा भइरहेको प्रदर्शनी ललितपुर महानगरपालिकाको सहकार्य तथा दक्षिण कोरियाको इमाको संस्थाको सहयोगमा आयोजना गरिएको हो।

प्रदर्शनीमा नेपालका ६० र दक्षिण कोरियाका ४० उत्कृष्ट मास्कहरूको प्रदर्शन गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै इमाकोका महासचिव छोए वु ह्यकले कोरियाली मास्क कला शैक्षिक, सौन्दर्यपूर्ण र सांस्कृतिक पहिचान बोकेको विषय भएको बताउँदै यसले घरेलु तथा अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपाल–कोरियाबीचको सांस्कृतिक समानता, समृद्ध मास्क कला परम्परा र बौद्ध संस्कृतिबाट गाँसिएको ऐतिहासिक सम्बन्धलाई विशेषरूपमा उल्लेख गरे। उनले मास्क परम्परामा रहेका मौलिकता, रूपान्तरण र सामाजिक–आध्यात्मिक प्रतिनिधित्वले दुई देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

राजदूत पार्कका अनुसार दक्षिण कोरिया र नेपालबीच आर्थिक, सामाजिक र सांस्कृतिक सहयोगको लामो इतिहास छ, र मास्क कला प्रदर्शनीमा दूतावासको सहभागिता दुवै देशका जनस्तरको सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसर हो। उनले हरेक वर्ष हजारौं कोरियाली पर्यटक नेपाल आउने तथ्य उल्लेख गर्दै, हिमालका अतिरिक्त नेपालको सांस्कृतिक विरासत कोरियाली पर्यटकका लागि ठूलो आकर्षण हुँदै आएको बताए।

नेपाल हस्तकला महासंघ र इमाकोबीचको सहकार्यले भविष्यमा कलाकारहरूबीच सांस्कृतिक आदानप्रदान र रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरिएको छ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका पदाधिकारी, नेपाल हस्तकला महासंघका प्रतिनिधि, दक्षिण कोरियाली दूतावासका कर्मचारी, इमाको अधिकारी तथा अन्य सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनी ७ डिसेम्बर २०२५ मा समापन हुनेछ।

प्रकाशित: १९ मंसिर २०८२ २०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App