२० मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा रगतको सहजता

जुम्लाको सिंजा गाउँपालिका-६ रुघाकी तारा रोकाया गतमंसिर १२ गते राति अचानक पेट र ढाड दुख्ने, अत्यधिक वान्ता हुने तथा हातखुट्टा दुख्ने समस्या लिएर सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्।  

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई तत्कालै आईसीयूमा भर्ना गरी चार दिनसम्म उपचार गरियो। चिकित्सकले पाठेघर शल्यक्रिया आवश्यक देखाएपछि रगत अभाव पर्न सक्ने भन्दै ‘ओ पोजेटिभ’ रगतको व्यवस्था गर्न परिवारलाई सुझाव दिएका थिए। उनका श्रीमान् शेरबहादुर रोकायाले आफन्त सम्झाएर दुई जनालाई तयारी अवस्थामा राखे पनि अन्ततः रगत हालै प्रयोग गर्नुपर्ने अवस्था भने आएन।  

अहिले तारा उपचारपछि नजिकै कोठा लिएर स्वास्थ्य सुधारको प्रतीक्षामा छिन्।यसअघि पनि सोही गाउँपालिका -६ भाडगाँउकी कोइरे रावत दीर्घकालीन पेट दुखाइका कारण स्थानीय स्वास्थ्यचौकी हुँदै अन्ततः प्रतिष्ठान पुगेकी थिइन्।  

उनको पाठेघरमा मासु (ट्यूमर) बढेको भेटिएपछि शल्यक्रियाको तयारी गरिँदा रगत अभावको समस्या दोहोरियो। बजारमा परिचय नभएकाले उनका पति लोगबहादुरले रगत खोज्न निकै दौडधुप गर्नुपरेको थियो।

‘जेनतेन आफन्तकै सहयोगमा उपचार गर्न सक्यौं,’ लोगबहादुर सम्झन्छन्। तर, यस्ता समस्याबाट जुम्लाबासी अब मुक्त हुने अपेक्षा गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ब्लड बैंक सञ्चालनका लागि आवश्यक मेसिन जडान भइसकेको छ।  

विभिन्न सामग्री खरिद पूरा भएसँगै केही दिनमै सेवा सुरु हुने तयारी भएको प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले बताए। ‘रगत परीक्षणदेखि ब्लड–सिल गर्ने सबै उपकरण तयार छ,’ उनले भने, ‘अब समस्या रगत दिने व्यक्तिको कमी हो, न कि प्रविधिको।’  

ब्लड बैंक सञ्चालनपछि बिरामीले आवश्यकतानुसार पातलो, बाक्लो, सेतोलगायत आवश्यक प्रकारको रगत अस्पतालमै पाइनेछ। ब्लड बैंकका लागि उपयोगी मेसिन अमेरिका–नेपाल मेडिकल फाउण्डेशनले उपलब्ध गराएको हो।अहिले प्रतिष्ठानमा नियमित रक्तदान गर्नेमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नेपाली सेना प्रमुख स्रोत छन्।  

उपकुलपति रोकायाका अनुसार, ‘रक्तदान गर्न चाहनेको संख्या कम छ। सभा–समारोहमा फलफूल बाँड्ने परम्पराभन्दा रक्तदानलाई प्राथमिकता दिने चेतना अब फैलिनुपर्छ।’

ब्लड बैंकमा एक महिनासम्म रगत सुरक्षित राख्न सकिनेछ। हाल प्रतिष्ठानसँग २ सय भन्दा बढी पोका अट्ने आधुनिक फ्रिजसमेत छ। बिरामीलाई ठूलो मात्रामा रगत आवश्यक नपरे पनि अचानक पर्ने माग पूरा गर्नका लागि दाता तयारी अवस्थामा राख्नुपर्ने अवस्था यथावत् छ।

स्थानीय धन्नलाल रावत भन्छन्, ‘पहिले रगत खोज्नै ठूलो चुनौती थियो। सेना–प्रहरी धाउनुपथ्र्यो। कसैले नचिनेको बिरामी त झन् जोखिममा पर्थ्यो। ब्लड बैंक सुरु भएपछि यो समस्या हट्ला भन्ने विश्वास छ।’

रगत अभावकै कारण उपचारमा ढिलाइ भोग्दै आएका जुम्लाबासीका लागि ब्लड बैंकको सुरुवात ऐतिहासिक राहत सावित हुने अपेक्षा  गरिएको छ। अब आवश्यक रगत खोज्न दौडधुप गर्नु पर्ने होइन।अस्पतालबाटै सुरक्षित, जाँचिएको र चाहिएको समूहको रगत प्राप्त हुने छ ।

प्रकाशित: १९ मंसिर २०८२ २०:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App