१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

सुपर आठको ढाँचा विवादमा

भारत र श्रीलंकामा जारी आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठको ढाँचालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विवादमा परेको छ।

जारी विश्वकपको अर्को चरणमा पुग्ने आठ टोलीको टुङ्गो लागेसँगै ‘प्रिसिडिङ प्रणाली’ बारे सामाजिक सञ्जालमा व्यापक आलोचना सुरु भएको हो। यस व्यवस्थाअनुसार चारै समूह विजेतालाई सुपर–८ मा एकै समूहमा राखिएको छ। चारै उपविजेता अर्को समूहमा परेका छन्। प्रिसिडिङ प्रणालीका कारण सुपर आठ समूहमा ठूलो असन्तुलन सिर्जना भएको क्रिकेट समर्थकको भनाइ छ।

विश्वकप सुरु हुनुअघि नै आइसिसीले शीर्ष टोलीहरूका लागि निश्चित स्थान (जस्तै ए वान, बी वान, सी वान र डी वान) तोकेको थियो। सुपर आठको समूह ‘एक’ मा आफ्नो समूहविजेता भारत, जिम्बाब्वे, वेस्ट इन्डिज र दक्षिण अफ्रिका छन्। अर्को समूह ‘दुई’ मा भने सबै उपविजेता टोली हुन्।

यो समूहमा पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड र न्युजिल्यान्ड छन्। यस संरचनाले पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुई टोली सेमिफाइनलअघि नै बाहिरिने निश्चित छ। आफ्नो समूहमा दोस्रो स्थानमा सीमित टोलीले सेमिफाइनल पुग्न अपेक्षाकृत सजिलो बाटो पाउने अवस्था बनेको छ।

सामान्यतय खेल प्रतियोगितामा समूहविजेतालाई पुरस्कृत गर्ने ढाँचा अपनाइन्छ तर यस प्रणालीमा शीर्ष स्थानमा रहनुको खासै अर्थ देखिँदैन। उदाहरणका लागि दक्षिण अफ्रिकाले आफ्नो समूह जिते पनि दोस्रो स्थानमा रहेको न्युजिल्यान्डलाई पहिल्यै उच्च वरीयता दिइएको छ। साथै दक्षिण अफ्रिका तल्लो सिडमा परेको छ।

परिणामस्वरूप शीर्ष आठ टोलीको टुंगो लागेपछि अन्तिम समूहचरणका खेलहरूको महत्त्व घटेको छ। यसले गर्दा समर्थकले अपेक्षा गर्ने रोमाञ्चकता हराउने खतरा बढेको छ। विश्व क्रिकेटको सफल राष्ट्र अस्ट्रेलियाले शुक्रबार ओमानसँग खेलिरहेको थियो।

समूहचरणबाट बाहिरिएको अस्ट्रेलियाको खेलमा खासै चासो हुन सकेन। आइसिसीको नयाँ प्रणालीअनुरूप सहआयोजक श्रीलंकालाई पनि यस तालिकाले असर पार्ने आलोचकहरूको भनाइ छ।

हालसम्म आफ्ना सबै खेल घरेलु मैदानमा खेलेको श्रीलंकाले यदि सेमिफाइनलमा स्थान बनाए पनि पूर्वनिर्धारित तालिकाअनुसार भारत यात्रा गर्नुपर्ने हुन्छ। जसले कोलम्बोमा आफ्नै समर्थकमाझ खेल्ने अवसर गुम्नेछ। आइसिसीले भने यो निर्णयको बचाउ गर्दै व्यवस्थापन र तालिकासम्बन्धी चुनौतीका कारण यो प्रणाली अपनाएको उल्लेख गरेको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना गरिने विश्वकपका लागि पूर्वतयारी आवश्यक रहेकाले प्रिसिडिङ प्रणाली अपनाउनुपरेको आइसिसीको दाबी छ।

प्रकाशित: १० फाल्गुन २०८२ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App