प्रविधिको तीव्र विस्तारसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म पुगेको छ। स्मार्टफोन प्रयोग गर्दै हुर्किरहेका बालबालिकामा यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
अहिले न्यून आय भएका परिवारदेखि प्रायः सबै घरका सदस्यसँग स्मार्टफोन र इन्टरनेटको पहुँच पुगेको छ। तर यसको दुरुपयोग पनि बढ्दै गएको मनोचिकित्सक तथा बालरोग विशेषज्ञ विकासराज अधिकारी बताउँछन्। उनका अनुसार मोबाइलको अत्यधिक प्रयोगका कारण सन्तानमा व्यवहारिक र स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि अभिभावक उपचार केन्द्र पुग्ने क्रम बढेको छ।
उनले भने, “शिशु अवस्थादेखि नै बालबालिका मोबाइलसँग परिचित हुन्छन्। सानै उमेरदेखि गेम खेल्ने, साथीभाइसँग कुराकानी गर्ने र अन्य काममा इन्टरनेट प्रयोग गर्दा लत बस्ने जोखिम बढ्छ। यसले स्वास्थ्य र शिक्षामा असर पारिरहेको छ।”
लकडाउनपछि बढ्यो लत
तानसेनका कक्षा ५ मा अध्ययनरत उमेश खड्का लकडाउनअघि निकै सक्रिय र खेलप्रेमी थिए। लकडाउनका बेला घरमै राख्न अभिभावकले इन्टरनेटको सहारा लिए। विद्यालयले अनलाइन कक्षा सुरु गरेपछि अधिकांश समय मोबाइलमै बित्न थाल्यो। विद्यालय खुलेपछि जान नमानेको, मोबाइल नदिँदा रिसाउने र सामान फ्याँक्ने व्यवहार देखिएपछि परिवारले मनोपरामर्श सुरु गरेको छ।
तानसेन–३ भगवती टोलकी आठ वर्षीया मनिषा पाण्डेलाई पनि सानैदेखि खाना खुवाउँदा भिडियो देखाउने बानी बस्यो। पछि गेम खेल्ने बानी बढ्दै जाँदा इन्टरनेट नहुँदा अत्यधिक रिसाउने, फोन फुटाउनेसम्मका व्यवहार देखिएपछि उपचार थालिएको परिवारले जनाएको छ।
गुल्मी तम्घासकी अप्सरा परियारका १२ वर्षीय छोरा प्रिन्स पनि कोभिडपछि मोबाइलमा निर्भर बन्दै गएका छन्। विद्यालयबाट फर्किएपछि झोला नखोली मोबाइलमा व्यस्त हुने, खोस्दा रुने र खाना नखाने समस्या बढेको उनले बताइन्। “पहिले पढाइ राम्रो थियो, अहिले मोबाइल नभई हुँदैन,” उनले भनिन्।
दीर्घकालीन असरको चेतावनी
डा अधिकारीका अनुसार इन्टरनेटको सुरक्षित प्रयोग नगर्दा बालबालिकामा गलत सूचना, मानसिक अस्थिरता, स्मरणशक्ति कमजोर हुनु, आँखा र श्रवणशक्तिमा असर पर्नेजस्ता समस्या देखिन सक्छन्। सानै उमेरदेखि लामो समय मोबाइल वा ल्याप्टप प्रयोग गर्दा सामाजिक र मानसिक विकासमा समेत नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
अत्यधिक इन्टरनेट प्रयोग गर्ने बालबालिकालाई सामान्य अवस्थामा फर्काउन गाह्रो हुने अनुभव उनले सुनाए। भावनात्मक कमजोरी, आत्मविश्वासको कमी र व्यवहारिक असन्तुलनसमेत देखिने जोखिम रहने उनले बताए।
अभिभावकको भूमिकामा जोड
बालबालिकामा मोबाइलको प्रयोग लत बनेको छ कि छैन भन्नेबारे अभिभावक सचेत हुनुपर्नेमा डा अधिकारीले जोड दिए। आफूले पनि मोबाइल कम प्रयोग गर्ने, बालबालिकासँग समय बिताउने, खेल्ने, पढ्ने र सकारात्मक गतिविधिमा संलग्न गराउने उपाय प्रभावकारी हुने उनले सुझाए।
प्रविधिको पहुँचले जनजीवन सहज बनाएको भए पनि यसको जिम्मेवार र सन्तुलित प्रयोग नहुँदा बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर असर पर्ने जोखिम बढ्दै गएको विज्ञहरूको निष्कर्ष छ।
प्रकाशित: १० फाल्गुन २०८२ १६:५५ आइतबार





