२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

फागुन २१ मा निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुहोस्: आयोग

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले फागुन २१ गते निर्वाचन नहुने भन्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।

गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले केही व्यक्तिले अहिले पनि निर्वाचन हुँदैन भनी भ्रम फैलाइरहेको उल्लेख गर्दै तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे। सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचनको वातावरण बनेको उनले बताए।

उनका अनुसार सुशासनका लागि निर्वाचन अनिवार्य छ र निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अधिकार दिन्छ। निर्वाचन आचारसंहिता लागू भइसकेकाले उल्लङ्घनसम्बन्धी उजुरीमाथि छानबिन गरी निर्णय गरिने जानकारी दिए। सूचना सम्प्रेषणसमेत आचारसंहिताभित्र रहेर गर्नुपर्नेमा जोड दिँदै उनले मत सर्वेक्षण गर्न नपाइने स्पष्ट पारे। मत सर्वेक्षणका नाममा कसले जित्छ, कसले हार्छ भन्ने सामग्री प्रकाशन गर्दा परिणाम उल्टिन सक्ने भएकाले यस्तो कार्य नगर्न आग्रह गरे।

संविधानको धारा १९ को अधिकारको हवाला दिँदै केही प्रतिष्ठित व्यक्ति मत सर्वेक्षणमा लागेको प्रसङ्ग उल्लेख गर्दै उनले यसबारे सर्वोच्च अदालतबाट भएका व्याख्या र विश्लेषणसमेत हेर्न ध्यानाकर्षण गराए। निर्वाचन पर्यवेक्षणका विषयमा पनि समाचार सङ्कलन गर्न सञ्चारकर्मीलाई आग्रह गरे।

फागुन २१ को निर्वाचन शताब्दीकै पेचिलो भए पनि आयोगले सहज रूपमा सम्पन्न गर्ने तयारी गरेको उनले बताए। चलायमान अवस्थाबाट अवरुद्ध बनेको देशलाई पुनः गतिशील बनाउन निर्वाचन आवश्यक रहेको उनको भनाइ थियो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई ले यसअघिको निर्वाचनभन्दा बढी प्रतिशत मतदान गराउने लक्ष्यका साथ सञ्चारमाध्यमले मतदाता शिक्षा तीव्र बनाउनुपर्ने बताए। विसं २०७९ को निर्वाचनभन्दा उच्च मतदान प्रतिशत भएमा सफल मानिने उनले उल्लेख गरे।

प्रकाशित: १० फाल्गुन २०८२ १६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App