नेपाली महिला टोलीले भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा दोस्रो हार सामना गरेको छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ३–० ले पराजित हुन पुग्यो। यससँगै चार राष्ट्र सम्मिलित च्याम्पियनसिपमा नेपालले दोस्रो हार सामना गर्यो। यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको भएको थियो। तर, दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई २–१ ले हराउँदै लयमा फर्किएको संकेत गरेको थियो। त्यस खेलमा पनि सुरुआतमा पछि परे पनि नेपालले पुनरामगन गर्दै जित निकालेको हो। तेस्रो खेलमा भने नेपाली टोली डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग सहजै नतिजा सुम्पिन पुग्यो।
बंगलादेश सन् २०२३ मा भएको यसै उमेरसमूहको डिफेन्डिङ च्याम्पियन हो। यो हारसँगै नेपालको तीन खेलबाट तीन अंक छ। नेपाल चार टोली रहेको डबल राउन्ड रोबिन लिगको अंकतालिकाको तेस्रो स्थानमा छ। बंगलादेश भने तीन खेलबाट दुई जितसँगै ६ अंक जोड्दै दोस्रो स्थानमा छ। बंगलादेशले भारतसँग २–० को एक मात्र हार बेहोरेको हो।
बंगलादेशले भुटानमाथि ३–१ ले अर्काे जित निकालेको थियो। आइतबार नेपालविरुद्ध पनि डिफेन्डिङ च्याम्पियन बंगलादेश सहजै हाबी भयो। बंगलादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे। खेलको ४० मिनेटसम्म नेपाली टोलीले बंगलादेशलाई रोकेको थियो। तर, पहिलो हाफ सकिन लाग्दा नेपालले लगातार दुई गोल सामना गर्यो।
नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले पनि ४० मिनेटसम्म बंगलादेशलाई रोकेको र नेपाली फुटबलको पुरानै खराब परम्परा जस्तै गोल खाएपछि आफ्ना खेलाडीको पनि मनोबल घटेको बताए। ‘आज नानीहरूले ठिकै खेलेका थिए। उनीहरुको पोसेसन राम्रो थियो। हामीले बलियो बंगलादेशलाई ४० मिनेटसम्म रोक्यौं,’ प्रशिक्षक श्रेष्ठले भने, ‘तर, त्यसपछि गोल खायौं। नेपाली फुटबलको यो पुरानो परम्परा हो। गोल खाइसकेपछि मनोबल घटाइहाल्ने। मेरा खेलाडी बंगलादेशविरुद्ध आत्तिए। आत्तिनु नपर्ने थियो।’
४१औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लियो। मार्माले गोल गर्दै बंगलादेशले अग्रता दिलाइन्। नेपाली डिफेन्डरको फितलो क्लियरेन्सलाई सदुपयोग गर्दै उनले गोल गरेकी हुन्।
एक मिनेट लगत्तै नेपालले काउन्टर अट्याकमा अवसर बनाए पनि सदुपयोग गर्न सकेन। तर, ४५औं मिनेटमा सौरभीले बंगलादेशको अग्रता दोब्बर बनाइन्। नेपालकी गोलकिपर लक्ष्मी ओली र डिफेन्डरबीच तालमेल नमिल्दा सौरभीले गोल गरेकी हुन्।
काउन्टर अट्याकमा नेपालकी लक्ष्मी बल क्लियर गर्न अगाडि बढिन्। तर, उनी बिट भएपछि सौरभीले खाली पोस्टमा गोल गरेकी हुन्। यससँगै पहिलो हाफमा नेपाल २–० ले पछाडि रह्यो। दोस्रो हाफमा हाफ नेपालले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन। उल्टै तेस्रो गोल सामना गर्यो। इन्जुरी समयमा चक्माले गोल गर्दै बंगलादेशलाई ३–० को सहज जित दिलाइन्।
बंगलादेशसँगको हारपछि नेपालका प्रशिक्षक चेतनारायणले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा यो नतिजा आएको बताए। ‘दोस्रो हाफमा मौका पाएका थियौं। तर, त्यसलाई गोलमा परिणत गर्न सकेनौं। अब आगामी खेल पनि बंगलादेशसँग नै छ। यो दुई दिनको ‘ग्याप’ मा हामी आवश्यक तयार गर्नेछौं,’ उनले भने।
प्रशिक्षक श्रेष्ठले दक्षिण एसियाली फुटबलमा भारत र बंगलादेश धेरै माथि पुगिसकेको पनि बताए। ‘नेपाल र उनीहरू (भारत र बंगलादेश) बीच अन्तर बढिरहेको छ। उनीहरूको ‘लङ टर्म प्लान’ हुन्छ। बंगलादेशका खेलाडीले पर्याप्त प्रशिक्षण गरेका छन्, ,’ उनले भने, ‘हामीले कमसेकम दुई वर्ष जति निरन्तर प्रशिक्षण ग¥यौं र पर्याप्त अन्तर्राष्ट्रिय ‘म्याच एक्सपोजर’ पायौं भने राम्रो नतिजा ल्याउन सक्छौं।’
उनले दीर्घकालीन योजनाले मात्र भारत र बंगलादेशसँगको दूरीलाई पनि घटाउने उल्लेख गरे। खेलाडीले निरन्तर खेल्न पाउनुपर्ने उनको भनाइ थियो। आइतबारै सम्पन्न पहिलो खेलमा भारतले भुटानविरुद्ध ८–० को एकतर्फी जित निकाल्यो। अब नेपालले फेरि भदौ ११ गते बंगलादेशसँग, भदौ १३ गते भारतसँग र लिगको अन्तिम खेलमा भुटानसँग भदौ १५ गते खेल्ने तालिका छ। चार राष्ट्र सम्मिलित च्याम्पियनसिप डबल राउन्ड रोबिनको हुनेछ। लिगको शीर्ष स्थानमा रहने टोली नै विजेता बन्नेछ।
प्रकाशित: ९ भाद्र २०८२ ०८:४८ सोमबार





