२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

साफ यु-१७ च्याम्पियनसिप: भारतको रवाफिलो सुरुआत

डिफेन्डिङ च्याम्पियन भारतले जारी साफ यु–१७ च्याम्पियनसिपमा रबाफिलो सुरुआत गरेको छ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा भारतले माल्दिभ्समाथि ६–० को रबाफिलो निकालेको हो। पछिल्ला दुई संस्करणको च्याम्पियन भारत एकपक्षीय रूपमा हाबी भयो। भारतको जितमा डल्लामुवन गाङ्तेले दुई तथा ऋषिकेश चरण, कामगोहाउ डोउङ्गेल, गुनलेइबा वाङखेइराकपम र आजिम पर्भिज नजरले समान एक गोल गरे। सम्पन्न समूह ‘बी’ को पहिलो खेलमा भारतले तीन अंक जोड्यो। भारत दक्षिण एसियाली फुटबलको बलियो टोली हो। सन् २०११ देखि सुरु भएको विभिन्न उमेरसमूहको पुरुष फुटबलमा भारतले १० मध्ये ६ पल्ट उपाधि जितेको छ। त्यसमध्ये भारत दुईपल्टको साफ यु–१७ च्याम्पियन हो।

बलियो र अनुभवी भारतले आफ्नो रबाफिलो शैली यसपल्ट पनि जारी राख्यो। समूह ‘बी’ को भारतले पहिलो हाफमा दुई गोल गर्‍यो तर, दोस्रो हाफमा चार गोल थप्दै भारत माल्दिभ्समाथि पूर्ण दबाब बनायो। गाङ्तेले खेलको १२औं मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। भारतले २९औं मिनेटमा अग्रता दोब्बर बनायो। यसपल्ट ऋषिकेशले गोल गरे। पहिलो हाफमा माल्दिभ्सले रोक्ने प्रयास गर्‍यो। दोस्रो हाफमा भने भारत पूर्ण हाबी रह्यो र चार गोल गर्‍यो। भारतका लागि तेस्रो गोल डोउङ्गेलले ४९औं मिनेटमा गरे। गुनलेइबाले ५९औं मिनेटमा अर्को गोल थपे। यससँगै भारत ४–० ले अगाडि रह्यो।

गाङ्तेले ६८औं मिनेटमा गोल गरे। आजिमले खेल सकिन चार मिनेट बाँकी छँदा भारतको छैटौं गोल गरेपछि भारतले फराकिलो जित निकाल्यो। यो समूहमा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छन्। समूह ‘बी’ अन्तर्गत नै दिनको दोस्रो खेलमा पाकिस्तानले भुटानको सामना गर्दै छ। अर्को समूह ‘ए’ मा नेपाल, आयोजक श्रीलंका र उपविजेता बंगलादेश छन्। नेपालले यो समूहको पहिलो खेलमा श्रीलंकामाथि २–० को जित निकाल्दै सुखद सुरुआत गरेको थियो। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल भने सेप्टेम्बर २७ तारिखमा हुनेछ।  

प्रकाशित: १ आश्विन २०८२ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App