२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

सबिता र अल्बिनालाई स्वर्ण

नेपालकी अल्बिना राजथला र सबिता ह्यान्जुले एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको ओपन पावरलिफ्टिङमा स्वर्ण जितेका छन्।

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा जारी च्याम्पियनसिपको ओपनतर्फ शनिबार सबिताले ६४ केजी तौलसमूह र अल्बिनाले ७२ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्। नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजामा जारी च्याम्पियनसिपमा सबिताले नेपालकै पुनम बोमजन र प्रेमिका बिष्टलाई पछि पारिन्। स्क्वाड, बेन्च र डेडलिफ्ट गरी तीन विधामा कुल तीन सय ८० केजी भार उचालिएकी थिइन्। पुनमले बेन्च प्रेसमा कुल ७२ केजी उठाउँदै सबितालाई चुनौती दिने प्रयास गरिन्। यसमा सबिता दुई केजीले पछि थिइन्। तर, सबिताले डेडलिफ्टमा पुनमलाई पछि पारिन्।

पुनमले कुल तीन सय ४१ केजी र प्रेमिकाले तीन सय २१ केजी तौल उठाइन्। अर्को स्वर्ण विजेता अल्बिनाले कुल तीन सय ६९ केजी तौल उचाल्दै स्वर्ण जितेकी हुन्। स्क्वाड, बेन्च र डेडलिफ्ट गरी कुलमा भार उचालिएको हो। भेषकुमारी अस्लामीले तीन सय ५५ केजी र महिमा सिन्तानले तीन सय ३५ केजी भार उचाल्दै क्रमशः रजत र कांस्य पदक जिते। पुनमले महिला मास्टर्स ६४ केजी तौलसमूहमा भने स्वर्ण जितिन्। यस विधामा प्रेमिका बिष्टले रजत पदकमा चित्त बुझाइन्। पुनमले तीन सय ४१ केजी र प्रेमिकाले तीन सय २१ केजी तौल उचाले। महिला मास्टर्स ७२ केजी तौलसमूहमा नेपालकै भेषकुमारीले स्वर्ण र भारतकी रेन्जु भर्घेसले रजत पदक जिते।

भेष कुमारीले कुल तीन सय ५५ केजी र रेन्जुले दुई सय सात केजी तौल उठाइन्। जुनियर पुरुष ६९ केजी तौलसमूहमा भारतका पर्थ कृष्णले सफलता पाए। यसै तौलको मास्टर्समा नेपालका डा. जितेन्द्र शाह, मास्टर्स ४५ देखि ४९ वर्षको ६९ केजी तौलसमूहमा बालकृष्ण तण्डुकार र मास्टर्स ९४ केजी तौलसमूहमा ज्ञानरत्न शाहीले स्वर्ण जितेका छन्। युथ पुरुषमा ६९ केजी तौलसमूहमा अंकित योञ्जनले स्वर्ण पदक जितेका छन्। यसअघि नेपालकी रुबीले ५३ केजी तौलसमूह र पुनम चौधरीले ५८ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।

च्याम्पियनसिपमा पुनमले प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकोतर्फबाट १० लाख बराबरको जीवन बीमा प्राप्त गरेकी थिइन्। विजेताहरूबाट लक्की ड्रमार्फत पुनमले एक वर्षका लागि उक्त जीवन बीमा प्राप्त गरेका हुन्। खुलामा पुरुष ६२ केजी तौलसमूहमा नेपालका किरण सुवालले स्वर्ण पदक जिते।

विजेतालाई वर्ल्ड पावरलिफ्टिङका अध्यक्ष रोबर्ट विल्क्स र आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्की लगायतले पुरस्कृत गरेका थिए। पहिलोपल्ट नेपालमा एसियन पावरलिफ्टिङ च्याम्पियनसिप भइरहेको छ। यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, अष्ट्रेलिया, श्रीलंका र पाकिस्तानलगायत राष्ट्रबाट एक सय २० बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। 

प्रकाशित: १ भाद्र २०८२ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App