नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेपाल लगातार दोस्रो पटक आइसीसी टी-२० विश्वकपमा छनोट भएपछि नेपालीको सपना साकार भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले यो ऐतिहासिक उपलब्धि सम्पूर्ण नेपाली समर्थकप्रति समर्पित गरेका हुन्। रोहितले लेखेका छन्, ‘हामीले सपना देख्यौँ, विश्वास गर्यौँ र पूरा गर्यौँ। हामी फेरि एकपटक विश्वकप खेल्न जाँदैछौँ।’
उनले यो सफलतालाई समर्पण, विश्वास र एकताको प्रतिफल भएको बताए।
कप्तान पौडेलले नेपाली समर्थकको विश्वास र साथ नै जितको आधार भएको उल्लेख गरेका छन्। ‘विश्वास र समर्थन कायम राख्ने हरेक नेपालीलाई, यो क्षण तपाईंहरूकै हो,’ उनले भनेका छन्।
विश्वकपमा छनोट हुनु नै अन्तिम लक्ष्य नभएको संकेत गर्दै उनले अबको यात्रा झनै महत्वपूर्ण हुने बताएका छन्। ‘सपना यहाँ सकिँदैन यो त फेरि सुरु हुन्छ,’ उनले लेखेका छन्।
प्रकाशित: २९ आश्विन २०८२ १९:५८ बुधबार





