नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन्।
१० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन्। राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे। गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोस्रो भए। आर्मीकै सञ्जय श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले निर्धारित दूरी ३० मिनेट ५.०० सेकेन्डमा तय गरे।
आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने। साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन्। पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन्। आर्मीकी निशा मजाकोटी दोस्रो भइन्। उनले ३५ मिनेट १५.३ सेकेन्ड समय लगाइन्।
३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेस्रो भए। आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे। दुवै समूहमा शीर्ष पाँच स्थानका खेलाडीले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष पाँच किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोस्रो, रेवतबहादुर दाहाल तेस्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने। भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए।
पुरुष/महिलामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते। कर्पोरेटतर्फ पुरुष पाँच किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोस्रो र तेजबहादुर गिरी तेस्रो भए। सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन्। कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो। विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दीपेन्द्र गुरुङ र गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले पुरस्कृत गरेका थिए
प्रकाशित: ७ मंसिर २०८२ १०:२८ आइतबार



-600x400.jpg)

