१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाको विद्यालयमा गोलीकाण्ड, आक्रमणकारीसहित १० जनाको मृत्यु, २५ भन्दा बढी घाइते

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तस्थित टम्बलर रिज शहरको एक हाईस्कुलमा मंगलबार गोलीबारी भएको छ। प्रहरीका अनुसार घटनामा आक्रमणकारीसहित १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। मृतकमध्ये विद्यार्थी छन् वा छैनन् भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी आएको छैन। सावधानीका रूपमा विद्यालय बन्द गरिएको छ।

स्थानीय क्षेत्रका विधायक ल्यारी न्युफेल्डले अवस्था नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली परिचालन गरिएको बताए। उनले आफ्ना परिवारजनको खोजीमा बाहिर निस्किएका मानिसहरूलाई घरमै फर्केर सुरक्षित रहन अपिल गरे।सरकारी वेबसाइटका अनुसार टम्बलर रिज सेकेन्डरी स्कूलमा कक्षा ७ देखि १२ सम्मका कुल १७५ विद्यार्थी अध्ययनरत छन्।

रोयल क्यानेडियन माउन्टेड पुलिसका नर्थ डिस्ट्रिक्ट कमाण्डर केन फ्लोयडले परिस्थिति छिटो–छिटो परिवर्तन भइरहेको र अवस्था निकै गम्भीर रहेको बताए। विद्यालय प्रशासन, आपतकालीन टोली र स्थानीय बासिन्दाको सहयोगले प्रहरीलाई कारबाहीमा सहज भएको उनले उल्लेख गरे।

प्रहरीका अनुसार दिउँसो करिब १ः२० बजे विद्यालयमा गोलीबारी भएको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी विद्यालयभित्र प्रवेश गर्दा धेरै व्यक्ति घाइते र मृत अवस्थामा फेला परेका थिए। आक्रमणकारी ठानिएको एक व्यक्ति पनि मृत अवस्थामा फेला परेको छ। उसको शरीरमा आफैंलाई चोट पु¥याएको जस्तो देखिने चिन्ह भेटिएको प्रहरीले जनाएको छ।

आक्रमणकारीबाहेक विद्यालयभित्र थप छ जना मृत फेला परेका थिए। दुई जना गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत अस्पताल पठाइएको थियो भने एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। करिब २५ जनालाई सामान्य चोटपटक लागेकाले स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ।

प्रहरीले विद्यालयका अन्य सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ। सम्पूर्ण क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र घटनाबारे अनुसन्धान जारी रहेको छ। एजेन्सी

प्रकाशित: २८ माघ २०८२ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App