८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

वर्षाले रोकियो पीएमकप: कर्णाली–लुम्बिनी खेल ७ ओभरमै स्थगित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वीरगञ्जस्थित नारायणी रंगशालामा जारी कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण बीचमै रोकिएको छ।

लुम्बिनी प्रदेशले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। वर्षा सुरु हुनुअघि कर्णालीले ७ ओभरमा २० रन बनाएको अवस्थामा खेल स्थगित गरिएको हो। कर्णालीका ओपनर रवीन्द्र शाही ९ रन र सुनिल धमला ७ रन बनाएर क्रिजमा रहेका थिए।

बलिङतर्फ लुम्बिनीका सन्देश थापाले ४ ओभरमा १२ रन खर्चिए भने राजेन्द्र बमले ३ ओभरमा एक मेडनसहित ८ रन मात्र दिएका थिए।

यस संस्करणको प्रधानमन्त्री कप मधेश प्रदेशका दुई स्थान र काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ। प्रतियोगिताअन्तर्गत १९ खेल वीरगञ्जमा, १७ खेल जनकपुरमा र १० खेल मुलपानीमा हुने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान) मधेश प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिएका छन्।

आईसीसी विश्वकप लिग–२ को तयारीका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यसपटक कुनै पनि खेल राखिएको छैन। त्यहाँका सबै खेल मुलपानीमा सारिएको क्यानले जनाएको छ।

करिब एक महिना चल्ने प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साविक विजेता नेपाल पुलिस क्लब हो।

 

प्रकाशित: ७ चैत्र २०८२ १४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App