निरन्तरको वर्षाले गर्दा यस वर्षको इद प्रभावित बनेको छ। वर्षाको बावजुत इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्रको अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका इदगाह र मस्जिदमा सामूहिक नवाज पाठ गरी हर्षोल्लासका साथ इद मनाइएको छ।
सो अवसरमा उनीहरूले एक आपसमा शुभ कामना आदानप्रदान गर्दै इद पर्व भव्य रूपमा मनाएका हुन्। यस्तै, उनीहरूले देशमा शान्ति सुरक्षा, अमन चयनको कामना पनि गरेका छन्।
नेपालको शान्ति, स्थिरता र आर्थिक विकासको कामना गरिएको नुर मोहम्मद खालिद खाले बताए। ‘यो महान् पर्वमा सबैले मिलेर खुसीयाली बाँड्न चाहन्छौ, देशभर नै राम्रो भएको हेर्न चाहेका छौ,’ उनले भने।
खुसीयालीको पर्व इद
मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट यो चाड मनाउने गर्छन्। इदको अर्थ खुसीयाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुसीयाली मनाइएकाले यस चाडलाई इदुल फित्र भन्ने गरिएको हो।
इदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुसीयालीमा सरिक हुन सहयोग गर्ने चलन छ। अरबी पात्रोअनुसार एक महिनासम्म उपवास बसेपछि महिनाको अन्तमा चन्द्रमाको दर्शन गरेपछि रमजान पर्व सम्पन्न हुन्छ र भोलिपल्ट इद पर्व मनाउने परम्परा छ। एक महिना पुरा भए पनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ।
इस्लाम धर्मावलम्बीले यस दिन नयाँ लुगा लगाउने, आफन्तलाई भेट्ने, उपहार आदानप्रदान गर्ने र मीठो खाना खाने गर्छन्। रमजान पर्व सुरु भएपछि पर्व मनाउनेले दिनभरि उपवास बस्ने गर्छन्। मुस्लिम धर्मावलम्बीले यस पर्वभरि कम बोल्ने, झुटो नबोल्ने, अर्कासँग ईर्ष्या नगर्ने, लोभ नगर्ने, अरूको हानी नपुर्याउने, कुरान पढ्ने गर्छन्।
जन प्रतिनिधि शुभकामना दिन मस्जिद
इदको अवसरमा जनप्रतिनिधिहरू मस्जिदमा शुभकामना दिन पुगेका छन्। लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, कांग्रेस नेता अनुपा पाण्डेय लगायतका नेता मस्जिदमा शुभकामना दिन पुगेका हुन्। मस्जिदमा एक हजार बढी मुस्लिम समुदायले सामूहिक नवाज पढेका थिए।
सो अवसरमा मुस्लिम अगुवा रउफ अहमद खाले नेताहरू इदगाह स्थल मै शुभकामना दिन आएकोमा खुसी व्यक्त गर्दै मुस्लिमहरूको हक अधिकारका लागि साथ दिन आग्रह गरेका थिए।
प्रकाशित: ७ चैत्र २०८२ १२:१५ शनिबार



-600x400.jpg)

