कपिलवस्तुको महाराजगञ्ज नगरपालिकास्थित बरगदवा गाउँमा दुई समूहबीच भएको विवाद उग्र बन्दै जिल्लाका विभिन्न स्थानमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार फेरि निषेधाज्ञा जारी गरेको छ।
शनिबार सोही विषयलाई लक्षित गरी महाराजगञ्ज नगरपालिकामा निषेधाज्ञा जारी गरिएको थियो। आइतबार जिल्लाको तौलिहवा, पकडी, लवनी र डंगरी लगायतका क्षेत्रमा समेत विरोध प्रदर्शन भएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुनः निषेधाज्ञा जारी गरेका हुन्।
पूर्वमा लवनी, पश्चिममा बरगदीघाट पुल, उत्तरमा पचहेरा चोक र दक्षिणमा धर्मभक्त मावि भवनलाई चार किल्ला तोकी निषेधाज्ञा लागू गरिएको छ। सो क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
शनिबार बिहान बरगदवामा ईदको अवसरमा नमाज पढिरहेको बेला नजिकै रहेको काली मन्दिरमा ठूलो आवाजमा ध्वनि बजाइएपछि विवाद सुरु भई उग्र रूप लिएको थियो।
घटनाका कारण आइतबार सदरमुकाम तौलिहवा, बहादुरगञ्ज, पकडी, लवनी लगायतका बजार बन्द भएका छन् भने सार्वजनिक यातायातका साधनसमेत ठप्प भएका छन्।
यसै घटनाका कारण कपिलवस्तु नगरपालिकाले सञ्चालन गरिरहेको विद्यालयको वार्षिक परीक्षा पनि स्थगित गरिएको छ। घटनामा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
.jpg)
विवाद समाधानका लागि सर्वपक्षीय बैठक
सर्वपक्षीय बैठकले साम्प्रदायिक सद्भाव खलल पुर्याउने गतिविधि नगर्न र नगराउन आग्रह गर्दै ६ बुँदे निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले दोषीलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने, घाइतेहरूको उपचारका लागि सरकारसँग अनुरोध गर्ने, उक्साहटपूर्ण अभिव्यक्ति दिनेलाई कानुनी कारबाही गर्ने र शान्ति कायम राख्ने निर्णय गरेको छ।
त्यस्तै, महाराजगञ्ज नगरपालिकाले बन्द रहेका शैक्षिक संस्था, सार्वजनिक सेवा र बजार सञ्चालन सहज बनाउने तथा शान्तिपूर्ण वातावरण सिर्जना गर्ने निर्णय पनि गरेको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकमा सांसद विक्रम सिंह थापा, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ८ चैत्र २०८२ १६:५५ आइतबार





