८ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

तेस्रो अन्तर्राष्ट्रिय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा उदयपुरलाई

बसाहा क्लब उदयपुरले तेस्रो अन्तर्राष्ट्रिय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

इटहरी वडा नं. ५ को जनता कलेजको खेलमैदानमा भएको फाइनल खेलमा लोहार्पा एफसी संघुवासभालाई १–० गोल अन्तरले हराउँदै बसाहा क्लब उदयपुरले उपाधि प्राप्त गरेको हो । जितसँगै बसाहा क्लबले चार लाख चार हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता लोहार्पा एफसी संघुवासभाले दुई लाख दुई हजार रुपैयाँ प्राप्त गरेको छ ।

खेलमा बसाहा क्लबका रितेश तामाङले निर्णायक गोल गरे । उनले खेलको २६ औँ मिनेटमा गोल गरेका हुन् । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी र हाई स्कोरर रितेश नै भए । उनले खेल अवधिभर तीन गोल गरेका थिए, जसमा सर्वश्रेष्ठ खेलाडी बनेकोमा नगद २० हजार र हाई स्कोरर बनेकोमा नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र पाएका छन् ।

खेलको म्यान अफ द म्याच लोहार्पा क्लब संघुवासभाका मिलन लिम्बु भए । उनले नगद पाँच हजार ५०० रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी, बेस्ट डिफेन्स बसाहा क्लबका मञ्जिल खड्का, बेस्ट मिडफिल्डर लोहार्पा क्लबका विवेक राई, बेस्ट कोच बसाहाका केशव राई, राइजिङ प्लेयर आयोजक द योङ ब्रदर्सका सबिन घिमिरे र बेस्ट गोलकिपर बसाहाका सन्दीप भट्टराई भए । सबैलाई जनही नगद १० हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो ।

फागुन ३० गतेदेखि सुरु भएको प्रतियोगितामा केराबारी फुटबल क्लब मोरङ, हलेसी फुटबल क्लब, लोहार्पा एफसी संघुवासभा, चुना स्पोर्टिङ क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब विराटनगर, आयोजक द योङ ब्रदर्स क्लब र भारतको कञ्चनजङ्गा फुटबल क्लब गरी आठ वटा टिम सहभागी भएका थिए । सुरुवातमा प्रतियोगिता प्रादेशिक स्तरमा रहे तापनि यसपटकदेखि बदलिँदै अन्तर्राष्ट्रिय स्तरको गरिएको हो ।

प्रकाशित: ८ चैत्र २०८२ १९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App