८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

अमृतका परिवारको सरकारसँग गुहार: तत्काल रिहाइ र सुरक्षित उद्धारको माग

इरानको सैन्य नियन्त्रणमा परेका उदयपुरका एक युवकको जीवन रक्षा तथा सुरक्षित रिहाइका लागि उनका परिवारले सरकारसँग आग्रह गरेका छन्।

उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय अमृत झा वैदेशिक रोजगारीका क्रममा दुबईमा कार्यरत रहेका बेला इरानतर्फ जाँदै गर्दा इरानी सेनाले नियन्त्रणमा लिएको खबर परिवारले पाएको हो। उनी पानीजहाजमा पाइलटको रूपमा कार्यरत थिए।

परिवारका अनुसार घटना भएको झण्डै सात दिनपछि मात्र जानकारी प्राप्त भएको हो। त्यसयता उनको अवस्थाबारे कुनै स्पष्ट सूचना नआएको भन्दै परिवार चिन्तित बनेको छ।

अमृतका आफन्त राजेश झाले उनको सुरक्षा सुनिश्चित गर्दै यथाशीघ्र रिहाइका लागि नेपाल सरकारसँग पहल गर्न आग्रह गरेका छन्। “उहाँको अवस्था के छ भन्नेबारे जानकारी छैन, सुरक्षित घर फर्काउने वातावरण बनाइदिन सबै पक्षसँग अनुरोध छ,” उनले भने।

घटनापछि अमृतका बुबा–आमा तथा परिवारका सदस्यहरू तनावमा रहेका छन्। उनलाई इरानको कुनै स्थानमा राखिएको भन्ने अपुष्ट जानकारी आएको भए पनि आधिकारिक पुष्टि हुन सकेको छैन।

यसैबीच, अमृतकी दिदीले परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गर्दै तत्काल रिहाइ र सुरक्षित उद्धारको माग गरेकी छन्। तर, सरकारले हालसम्म के कदम चाल्यो भन्नेबारे स्पष्ट जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।

त्रियुगा नगरपालिकाले पनि पत्राचार गर्दै परराष्ट्र मन्त्रालयसँग अमृतको सुरक्षित रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

उदयपुर जिल्ला प्रशासन कार्यालयले पनि घटनाबारे जानकारी प्राप्त भइसकेको र परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल भइरहेको जनाएको छ।

परिवारले सरकारलाई शीघ्र पहल गरी अमृतलाई सकुशल स्वदेश फर्काउन माग गरेका छन्।

प्रकाशित: ८ चैत्र २०८२ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App