१४ माघ २०८२ बुधबार
image/svg+xml
खेल

प्लानिङ ब्वाइजको दोस्रो जित

चोटबाट गुज्रिरहेका फागुराम चौधरीको दुई गोलमा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबमाथि ४–२ को उत्कृष्ट पुनरागमन गरेको हो। खेलमा पछि परेको स्थिति उल्ट्याउँदै प्लानिङ उत्कृष्ट जित निकाल्न सफल भयो। अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका फागुरामले दुई गोल गर्दै जित दिलाए।

एलेक्स विलेन र रोमन भुजेलले समान एक गोल थपे। सातदोबाटोका बोबिरसोह सोबिरोब र फोफानाले समान एक गोल गरेका थिए। सातदोबाटोले खेलमा अग्रता जोगाउन नसक्दा दोस्रो हार सामना गरेको हो। सातदोबाटोबाट जगजित श्रेष्ठ, कुलदीप कार्की र समीर तामाङजस्ता खेलाडीले खेलेका छन्। साथै विदेशी फोडे फोफाना पनि लयमा देखिएका छन्।

अनुभवी खेलाडीको साथ पाए पनि सातदोबाटोले राम्रो नतिजा ल्याउन सकेको छैन। सातदोबाटोले एक मात्र जित कमजोर प्रदर्शन गरिरहेको मनाङ मर्स्याङ्दीविरुद्ध निकालेको थियो। सातदोबाटोले खेलमा अग्रता लिँदै प्लानिङ ब्वाइजमाथि दबाब बनाएको थियो। पहिलो हाफमा सातदोबाटोले पूर्ण दबाबमा राख्यो तर दोस्रो हाफमा भने खेल रोमाञ्चक बन्यो। कुल चार गोल पनि निस्कियो।

खेलको २१औं मिनेटमा बोबिरसोहको गोलबाट सातदोबाटो युथले अग्रता लियो। अनुभवी खेलाडी जगजित श्रेष्ठको कर्नर पासमा उज्बेकिस्तानका खेलाडी बोबिरसोहले गोल गरेका हुन्। जारी लिगमा जगजितको लगातार यो तेस्रो असिस्ट हो। यो गोलपछि सातदोबाटोले लगातार दबाब बनायो। केही अवसर पनि सिर्जना गर्‍यो तर गोल गर्न भने सकेन।

पहिलो हाफको थप समयमा प्लानिङले गोल फर्काउँदै बराबरीमा ल्यायो। पेनाल्टी बक्सभित्र अनमार्क एलेक्सले गोल गरे। सातदोबाटोका सुरजज्यू ठकुरीले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै गोल गरेका हुन्। त्यो गोलसँगै पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सुधारिएको खेल प्रदर्शन गर्‍यो। ६३औं मिनेटमा प्लानिङले गोल गर्दै पहिलोपल्ट अग्रता लियो। करिब २२ यार्ड टाढाबाट रोमनले उत्कृष्ट गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका हुन्।

 रोमनको एकल प्रयासमा गोलसँगै प्लानिङको आत्मविश्वास बढ्यो। तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन। ६ मिनेटपछि नै सातदोबाटोले गोल फर्काउन सफल भयो।

जारी लिगमा फोडेको यो लगातार तेस्रो गोल हो। ७४औं मिनेटमा प्लानिङले सामु मुर्मुको स्थानमा फागुरामलाई मैदान प्रवेश गरायो। चोटका कारण पहिलो रोजाइमा नपरेका फागुरामले आफ्नो प्रभाव छोडे र प्लानिङलाई जित दिलाए। अन्तिम ११ मिनेटमा प्लानिङ ब्वाइजले दुई गोल थप्दै उत्कृष्ट पुनरागमन जित निकाल्यो।७९औं मिनेटमा फागुरामले गोल गर्दै प्लानिङलाई ३–२ को अग्रता दिलाए। चार मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गरे। यससँगै प्लानिङ ब्वाइजले ४–२ को अग्रता लियो। त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र प्लानिङले सातदोबाटोमाथि ४–२ को जित निकाल्यो। यससँगै चार खेलबाट प्लानिङ ब्वाइजले दोस्रो जित आत्मसात गर्‍यो।

प्लानिङले एक बराबरी र एक हार सामना गरेको छ। सात अंक जोड्दै प्लानिङ छैटौं स्थानमा उक्लियो। जुन शीर्ष स्थानको टोली लालीगुराँस एसोसिएसनभन्दा तीन अंकले कम हो। चार खेलमा अपराजित लालीगुराँसले पनि मंगलबार त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरीको नतिजा सामना गरेको थियो। यससँगै लालीगुराँसको विजययात्रा रोकियो। चार खेलबाट १० अंक जोड्दै लालीगुराँस शीर्ष स्थानमा छ। मच्छिन्द्र, एनआरटी र एपिएफले भने तीन खेलबाट ९ अंक जोडेका छन्।  

प्रकाशित: १४ माघ २०८२ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App