२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानको विदेशी भूमिमा तीन वर्षपछि टेस्ट जित, वेस्ट इन्डिजसँग शृंखला बराबर

पाकिस्तानले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा ८ विकेटले हराउँदै दुई खेलको टेस्ट शृंखला १–१ को बराबरीमा टुंग्याएको छ।

त्रिनिडाडमा पाकिस्तानले ७५ रनको लक्ष्य २४ ओभरभित्र पूरा गर्दै तीन वर्षपछि विदेशी भूमिमा टेस्ट जित निकालेको हो। पोर्ट अफ स्पेनमा ७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानका अब्दुल्लाह शफिक र कप्तान बाबर आजमले अविजित २४–२४ रन बनाए। 

पहिलो टेस्टमा तारोबामा जित हात पारेको वेस्ट इन्डिजले दोस्रो इनिङको चौथो दिन ६ विकेटमा १०३ रनबाट खेल सुरु गरेको थियो। पाकिस्तानले पहिलो इनिङमा ३८७ रन बनाएपछि वेस्ट इन्डिज ६० रनले मात्र अगाडि थियो। बुधबार वेस्ट इन्डिज थप १४ रन जोडेर ११७ रनमै अलआउट भयो। उसका ब्याटर ब्रान्डन किङ चोटका कारण ब्याटिङ गर्न आएनन्। पाकिस्तानका अली उस्मानले ४ तथा साजिद खानले ४ विकेट लिए। दोस्रो टेस्ट खेलिरहेका उस्मानले चौथो दिन दुई विकेट लिए।

७५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले इमाम–उल–हकलाई ९ र अजान अवैसलाई १८ रनमा गुमाएको थियो। तर शफिक र बाबरले त्यसपछि सम्हालिएर खेल्दै पाकिस्तानलाई जितसम्म पुर्‍याए। यो जितसँगै पाकिस्तानको विदेशी भूमिमा लगातार आठ टेस्ट हारको शृंखला पनि समाप्त भएको छ। पाकिस्तानले यसअघि सन् २०२३ को जुलाईमा कोलम्बोमा श्रीलंकालाई हराएयता विदेशी भूमिमा टेस्ट जित्न सकेको थिएन। अब पाकिस्तानले इंग्ल्यान्डसँग तीन खेलको टेस्ट शृंखला खेल्नेछ। पहिलो टेस्ट १९ अगस्टदेखि हेडिङ्लीमा सुरु हुनेछ।

प्रकाशित: २१ श्रावण २०८३ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App