संकटा क्लबले छिमेकी प्रतिद्वन्द्वी मच्छिन्द्र क्लबलाई नतिजा सुम्पिएसँगै एन्फा यु–१६ युथ लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको आठौं खेलमा लिगको दोस्रो स्थानको संकटा मच्छिन्द्रसँग २–१ पराजित भयो। यससँगै संकटाले नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिने अवसर गुमाउन पुग्यो। मच्छिन्द्रको जितमा गोविन्द विक र राहुलकुमार योन्जनले गोल गरेका हुन्।
संकटाका लागि पेम्बा तामाङले एक गोल गरे। संकटाले खेलमा अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो। खेलको ३३औं मिनेटमा संकटाले पेम्बाको गोलबाट अग्रता लिएको थियो। लेफ्ट साइडबाट नवराज तिरुवाले दिएको क्रसमा पेनाल्टी बक्सभित्र अनमार्क पेम्बाको हेडर गोलमा परिणत भएको हो। त्यो गोलसँगै पहिलो हाफमा संकटा १–० ले अगाडि रह्यो।
दोस्रो हाफमा भने संकटाले त्यो अग्रता जोगाउन सकेन। मच्छिन्द्रले दुई गोल थप्दै उत्कृष्ट पुनरागमन गर्यो। दोस्रो हाफ सुरु भएको केही समयमा मच्छिन्द्रले गोल फर्कायो। ४८औं मिनेटमा राहुलकुमारले गोल गर्दै मच्छिन्द्रलाई बराबरीको स्थितिमा ल्याए। करिब ३० यार्ड टाढाबाट उनले गरेको टप कर्नर सट संकटाका गोलकिपर बिजन बसेलले भेट्टाउन नै सकेनन्। खेल सकिन सात मिनेट बाँकी छँदा मच्छिन्द्रले अर्को गोल गर्यो।
काउन्टर अट्याकमा मच्छिन्द्रका गोविन्दले गोल गरेका हुन्। प्रज्ञान राईले दिएको क्रसमा संकटाका गोलकिपर बसेल बिट भएको अवस्थामा उनले वान टच गोल गरे। त्यसपछि थप गोल हुन सकेन र मच्छिन्द्रले जारी लिगमा पाँचौं जित निकाल्यो।
आठ खेलबाट मच्छिन्द्र १७ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको नेपाल पुलिसभन्दा दुई र संकटाभन्दा एक अंकले कम हो। बिहीबार नै भएका अन्य खेलमा विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लबले जित निकालेका छन्। दिनको पहिलो खेलमा एपिएफले एनआरटीमाथि १–० को साँघुरो जित दर्ता गर्यो।
प्रशिष खनालको एक मात्र गोल नै एपिएफले तीन अंक दिलाउन पर्याप्त बन्यो। यो जितसँगै एपिएफ आठ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। एनआरटी भने पाँचौं हार सामना गर्दै पाँच अंकसहित १२औं स्थानमा छ। अर्को खेलमा पूजन सुनारको ह्याट्रिकमा जावलाखेलले प्लानिङ ब्वाइज युनाइटेड क्लबमाथि ६–३ को जित रच्यो।
जावलाखेलका लागि पूजनले ह्याट्रिकसहित चार गोल गर्दा विशाल शाही र सुजन तामाङले समान एक गोल थपे। प्लानिङका सुमित खड्का, अनुराग बोमजन र अर्जुन मगराती मगरले समान एक गोल फर्काए। जारी लिगमा जावलाखेलको आठौं खेलमा तेस्रो जित हो। जितका बावजुद जावलाखेल १० अंकसहित नवौं स्थानमा यथावत् छ। प्लानिङ ब्वाइजको आठौं खेलमा छैटौं हार हो।
यो हारका बावजुद प्लानिङ ६ अंकसहित ११औं स्थानमा यथावत् नै छ। प्लानिङ ब्वाइज क्लब पुछारको सातदोबाटो युथ क्लबपछि जारी लिगमा सबैभन्दा धेरै गोल खाने दोस्रो टोली हो। अहिलेसम्म सातदोबाटोले ५० गोल र प्लानिङले ३७ गोल बेहोरिसकेका छन्।
प्रकाशित: ९ श्रावण २०८२ ०७:५९ शुक्रबार





-600x400.jpg)