१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

युवा खेलाडीका लागि प्रतिभा देखाउने अवसर

चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) सँग सोमबार हुने पहिलो टी ट्वान्टी खेलसँगै नेपाली क्रिकेट टोली एक महिनाभन्दा बढी समय घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय शृंखलामा व्यस्त हुनेछ।

युएईसँगको दुई खेलको टी ट्वान्टी शृंखलापछि नै नेपाली क्रिकेट टोली दुईवटा त्रिकोणात्मक शृंखलाका लागि एक महिनाभन्दा बढी समय व्यस्त हुनेछ। छोटो फरम्याटको क्रिकेटपछि नेपाली टोलीले आइसिसी विश्वकप लिग–२ का दुईवटा त्रिकोणात्मक शृृंखला खेल्नेछ। लिग–२ अन्तर्गत नेपालले ओमान र युएईसँग पहिलो त्रिकोणात्मक शृंखलापछि अर्को शृंखला अमेरिका र स्कटल्यान्डसँग खेल्ने तालिका छ। मे २२ तारिखमा नेपालले अमेरिकासँग खेलेपछि नै घरेलु मैदानमा एक महिना लामो व्यस्त तालिका पूरा गर्नेछ। लिग–२ को यस साइकल (२०२३/०२७) मा नेपाली टोलीले कमजोर प्रदर्शन गरेको छ।

आठ राष्ट्र सम्मिलित लिग–२ मा १२ अंकसहित नेपाल सातौं स्थानमा छ। जुन पुछारको युएईभन्दा दुई अंकले मात्र बढी हो। घरेलु मैदानमा हुने दुईवटा शृंखलापछि नेपाली टोलीको अंकतालिकामा सुधार आउने अपेक्षा गरिएको छ। नेपालले लिग–२ का २० खेलमा नेपालले पाँच मात्र जित निकालेको छ। त्यसमध्ये नेपालले तीन खेलमा जित अस्ट्रेलियन प्रशिक्षक स्टुआर्ट लको प्रशिक्षणमा पाएको हो। उनको प्रशिक्षणमा नेपालले पाँच हार सामना गरेको छ। टी ट्वान्टीमा भने स्टुआर्टको प्रशिक्षणमा नेपालले ११ जित (एक सुपर ओभर) र ६ हार सामना गरेको छ। प्रशिक्षक स्टुआर्टले गत वर्षको मार्च २८ तारिखदेखि नेपाली टोली समालेका हुन्।

त्यसयता एक वर्षको अवधिमा पहिलोपल्ट उनको प्रशिक्षणमा नेपाली टोलीले घरेलु मैदानमा खेल्दै छ। टी ट्वान्टी शृंखलाअघि आइतबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक स्टुआर्टले घरेलु मैदानमा खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए। लिग–२ को शृंखलाका लागि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गर्नेछन्।

वैशाख १२ गतेदेखि सुरु हुने यो शृंखला नेपालसहित ओमन र युएईबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा हुँदै छ। स्टुआर्टले घरेलु मैदानमा नयाँ स्टार खेलाडीको साथ युएईसँग खेल्न उत्साहित रहेको बताएका छन्।

सोमबार नेपालले टियुमा युएईसँग पहिलो टी ट्वान्टी खेल्दै छ। उक्त शृंखलाको तयारीबारे आइतबार स्टुआर्टले पहिलोपल्ट घरेलु दर्शकको साथमा खेल खेल्न उत्साहित रहेको बताए। नेपालले दुवै खेल फ्लड लाइटमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा खेल्नेछ।

उक्त खेल साँझ पाँच बजेदेखि सुरु हुनेछ। स्टुआर्टले घरेलु दर्शकहरूका अगाडि खेल खेल्न उत्साहित रहेको बताएका छन्। उनले टोलीमा केही नयाँ र प्रतिभाशाली खेलाडीहरू रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गरेर उनीहरूले स्थान बनाएको स्टुआर्टले उल्लेख गरे।

भारतमा सम्पन्न आइसिसी टी ट्वान्टी विश्वकप खेल्ने नेपाली टोलीबाट अहिले पाँच खेलाडी परिवर्तन भएका छन्। यसबारे बोल्दै स्टुआर्टले युवा खेलाडीहरूका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अवसर पाएको धारणा राखे।

नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाअघि नियमित कप्तान रोहितकुमार पौडेललाई एकदिवसीय टोलीको मात्र जिम्मेवारी दिएको छ भने टी ट्वान्टी टोलीमा दीपेन्द्रसिंह ऐरीलाई नयाँ कप्तान चयन गरेको छ। नयाँ नेतृत्वको बारेमा बोल्दै स्टुआर्टले खेलमा टोली प्रशिक्षकले नभई कप्तानले चलाउने र आफूले केबल मार्गदर्शन गर्ने उल्लेख गरे।

नवनियुक्त कप्तान दीपेन्द्रसिंह पहिले पनि टोलीको नेतृत्वजस्तै रहेको र अहिले कप्तानको रूपमा टोलीलाई नेतृत्व गर्ने अवसर पाएको प्रशिक्षक स्टुआर्टको भनाइ छ। युएईविरुद्ध खेल्दा पिच र घरेलु अवस्थाको फाइदा उठाउने बारे उनी सकारात्मक छन्। विपक्षी टोलीमा धेरै बायाँहाते स्पिनर हुने भएकाले त्यसलाई रोक्न नेपाली टोलीमा बायाँ हाते ब्याटरहरूलाई मौका दिइएको उनले उल्लेख गरे। सन्तोष यादवजस्ता नयाँ खेलाडीहरूको बारेमा स्टुआर्टले उनीहरू आफ्नो प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा छानिएको बताए।

सन्तोष प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी हुन्। टी ट्वान्टीपछि नेपालले आइसिसी लिग–२ को त्रिकोणात्मक शृंखला खेल्नेछ। जहाँ नेपाली टोली आठ राष्ट्र रहेको लिग–२ को अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ। यो शृंखलालाई जित्नैपर्ने दबाबभन्दा पनि खेलाडीहरूको क्षमता निखार्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव दिलाउने अवसरको रूपमा प्रशिक्षक स्टुआर्टले हेरेका छन्। उनले खेलाडीहरूलाई घरेलु मैदानमा रमाइलो गर्दै खेल्न र जित्ने बानी बसाल्न प्रेरित गरेका छन्। टी ट्वान्टी शृंखलाको दोस्रो खेल नेपालले मंगलबार खेल्नेछ।

युएई र ओमान रहेको शृंखलाको पहिलो खेल भने नेपालले शनिबारदेखि खेल्नेछ। सन्तोष यादवले पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीमा मौका पाएका छन्। घरेलु क्रिकेटमा लुम्बिनी प्रदेशबाट खेल्ने सन्तोषले यसअघि उमेरसमूहको राष्ट्रिय टोलीबाट खेले पनि सिनियर राष्ट्रिय टोलीमा भने पहिलोपटक अवसर पाएका हुन्।

अर्जुन साउद र मध्यम गतिका बलर हेमन्त धामीले टी ट्वान्टी क्रिकेटबाट लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। नेपाली टोलीको अन्य सदस्यमा सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलसन झा, लोकेश बम, नन्दन यादव, साहब आलम र शेर मल्ल छन्।

तीन वैकल्पिक खेलाडीमा प्रतीश जिसी, नारायण जोशी र रसिद खान छन्। रोहितको कप्तानीमा १५ सदस्यीय नेपाली एकदिवसीय टोली छ। अनुभवी ब्याटर विनोद भण्डारीले टोलीमा पुनरागमन गरेका छन्। अर्जुन कुमाल पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका छन्। यस टोलीमा दीपेन्द्रसिंह उपकप्तान नै रहनेछन्। टोलीका अन्य सदस्यमा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी छन्।

अनुभवी खेलाडी तथा पूर्वकप्तान रुबिनाले उत्कृष्ट बलिङ गरिन्। रुबिनाले २.४ ओभरमा एक मेडन राख्दै चार विकेट लिएर चार रन मात्र दिइन्। उनी प्लेअर अफ दी म्याचसमेत भइन्।

प्रकाशित: ७ वैशाख २०८३ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App