१० माघ २०८२ शनिबार
image/svg+xml
खेल

एनआरटी र एपिएफको दोस्रो जित

न्युरोड कर्नर टिम (एनआरटी) र एपिएफ क्लबले बिहीबार दोस्रो जित निकाल्दै राष्ट्रिय लिगको अंकतालिकामा शीर्ष स्थानको होड बनाएका छन्।

च्यासल स्टेडियममा बिहीबार एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइजमाथि ४–१ को जित निकाल्यो। एनआरटीले भने मोफसलको टोली काँक्रे बिहार क्लबलाई २–० ले सहजै हरायो। एपिएफको लगातार दोस्रो जित हो।

एनआरटीले भने तीन खेलबाट दोस्रो जित निकाल्यो। एपिएफका युवराज खड्काले दुई गोल गर्दा समीराज थोकर र प्रदीप लामाले समान एक गोल थपे। चर्च ब्वाइजका मिलन राईले एक गोल फर्काए। यो जितसँगै एपिएफले दुई खेलबाट ६ अंक जोड्यो। दुई खेलबाट लालीगुराँस एसोसिएसन क्लबको पनि ६ अंक छ।

पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदा चर्च ब्वाइजले श्री भगवती क्लबसँग १–१ को बराबरी खेलेको थियो। दुई खेलबाट चर्च ब्वाइजको एक अंक छ। दोस्रो खेलमा पनि चर्च ब्वाइजले खराब प्रदर्शन गर्‍यो। एपिएफसँग चर्च ब्वाइजले राम्रो प्रदर्शन गर्न सकेन। दुवै हाफमा एपिएफले समान दुई गोल गर्‍यो। खेलको २२औं मिनेटमा समीराजको गोलबाट एपिएफले अग्रता लियो। ३८औं मिनेटमा एपिएफले अग्रता दोब्बर बनायो।

प्रदीप लामाले गोल गर्दै पहिलो हाफअगाडि एपिएफलाई २–० को सहज अग्रता दिलाएका हुन्। दोस्रो हाफमा एपिएफले दुई गोल गर्दा एक गोल पनि सामना गर्‍यो। ६०औं मिनेटमा युवराजले पहिलो गोल गरेपछि एपिएफ ३–० ले अगाडि रह्यो।

उनले ७७औं  मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। यद्यपि, ८२औं मिनेटमा चर्च ब्वाइजले गोल गर्दै खेलमा फर्कने प्रयास ग¥यो। मिलन राईले गोल गर्दै अग्रता छोट्याएका हुन्। तर, चर्च ब्वाइजको खेलमा फर्कने प्रयास सफल भएन।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले बिहीबार काँक्रे बिहारलाई सहजै हराउँदा टिमोथी ओकेरेके र रन्दीप पौडेलले समान एक गोल गरे। एनआरटीले तीन खेलबाट ६ अंक बटुल्यो। पहिलो खेलमा एनआरटीले मच्छिन्द्र क्लबसँग १–० को हार बेहोरेको थियो तर एनआरटीले दोस्रो खेलमा सातदोबाटो युथ क्लबलाई ३–१ ले हराएको थियो। स्टार खेलाडीले भरिएको एनआरटी तेस्रो खेलमा पनि लयमा देखिएको छ।

एनआरटीले पहिलो हाफमा नै दुई गोल गरेको हो। खेलको दोस्रो मिनेटमा नै ओकेरेकले गोल गर्दैै अग्रता दिलाए। रन्दीपले ३५औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–० ले अगाडि बढाए। दोस्रो हाफमा थप गोल हुन सकेन र एनआरटीले काँक्रे बिहारमाथि सहज जित निकाल्यो।  

प्रकाशित: ९ माघ २०८२ १०:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App