सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलोपल्ट नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्ने लक्ष्यसहित शनिबार आमनेसामने हुँदै छन्।
सुदूरपश्चिम सुरुदेखि नै दाबेदारको रूपमा हेरिँदै आएको टोली हो। दोस्रो सिजनभर नै साबिकको उपविजेता सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित पनि गर्न सफल भयो। लुम्बिनीको उपाधि भिडन्त यात्रा भने उतारचढावका बीच नै रह्यो।
एक समय लुम्बिनी प्लेअफमा नै पुग्दैन कि भन्ने आकलन पनि रहे। किनकि लिगको पहिला चार खेलमध्ये तीन खेलमा हार बेहोरेपछि रोहितकुमार पौडेलको कप्तानी रहेको लुम्बिनी प्लेअफको होडमा कमजोर देखिन्थ्यो। त्यसपछिका अन्तिम तीन खेलमध्ये एउटामा हारले नै लुम्बिनीको प्लेअफ यात्रा सम्भव थिएन तर लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्यो।
तीनै खेल जित्दै लिगको चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनायो। प्लेअफका चार टोली (सुदूरपश्चिम, विराटनगर किङ्स र काठमान्डु गोर्खाज ) मध्ये लुम्बिनीलाई नै कमजोर मानिएको थियो।
प्लेअफमा स्थान बनाएपछि लुम्बिनीका कप्तान रोहितलाई पत्रकारले प्लेअफमा सबैभन्दा बलियो टोली कुन लाग्छ भन्दै प्रश्न गरेका थिए। रोहितले जबाफ दिए ‘अहिलेसम्म हेर्दा लुम्बिनी नै राम्रो र सन्तुलित देखेको छु। तीनवटै टोली (सुदूरपश्चिम, विराटनगर किङ्स र काठमान्डु गोर्खाज) बराबर राम्रा नै छन् तर मेरो धारणा लुम्बिनी नै बलियो छ भन्ने हो।’ उनको जबाफमा त्यहाँ उपस्थित हाँसे।
सञ्चारमाध्यममा उनको त्यो भनाइपछि अधिकांश क्रिकेट समर्थकले आलोचनात्मक प्रतिक्रिया दिए। उनीहरूको आलोचना स्वाभाविक पनि देखिन्थ्यो। किनकि लिगमा तुलनात्मक रूपमा लुम्बिनीको प्रदर्शन सन्तोषजनक थिएन। गत संस्करणजस्तै लिगको अन्तिममा नै रहन सक्ने अवस्था थियो। त्यसैले केही समर्थकले पहिला काठमान्डुलाई जितेर त दिखाउनुस् भने तर रोहितको टोलीले उत्कृष्ट बलिङ गर्दै काठमान्डुलाई हरायो। प्लेअफमा सबैभन्दा कमजोर मानिएको टोली लुम्बिनी काठमान्डुमाथि सहज जित निकाल्दै दोस्रो क्वालिफायरमा पुग्यो तर अझै लुम्बिनीलाई कमजोर आँकिएर विश्लेषण भए। लुम्बिनीको ब्याटिङ कमजोर रहेको अनुमान थियो।
विराटनगरलाई १४०/१४५ लक्ष्य दिए १०/१२ ओभरमै भेट्टाउँछ भन्ने जस्ता प्रतिक्रिया पनि आए तर रोहित र उनको टोलीमा बलियो विश्वास थियो र पहिलोपल्ट फाइनल पुग्न चाहन्थ्यो। ब्याटिङमा संघर्ष गरेको पिचमा लुम्बिनीले धैर्यता गुमाएन र मध्यम (१३४) लक्ष्य दियो। जुन लक्ष्यलाई लुम्बिनीको उत्कृष्ट बलिङले पर्याप्त साबित गदिदियो। रोहित आफैंले भनेका थिए, अहिले टोली अर्कै भइसकेको छ। ‘अहिले लुम्बिनी धेरै राम्रो बनिसकेको छ। लिगका पछिल्ला तीन खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा जसरी हामीले प्रदर्शन गरेका छौं, त्यो हेर्दा हामी नै बलियो देखिन्छौं,’ लिगको अन्तिम खेलमा जितपछि रोहितको भनाइ थियो।
कप्तानले आफ्नो टोली बलियो छ भन्नु स्वाभाविक नै हो। तर, प्लेअफका दुई खेलमा रोहितले भनेजस्तै लुम्बिनीले अप्रत्याशित प्रदर्शन गर्यो। आफ्नो टोलीलाई मानिएको ‘अन्डरडग’ ट्याग हटाइदियो। दोस्रो क्वालिफायरमा पनि स्टारले भरिएको विराटनगरको ब्याटिङ लुम्बिनीका बलरले ध्वस्त नै पारे।
विश्व क्रिकेटका हस्ती फाप डु प्लेसिस र मार्टिन गप्टिल दोहोरो अंक नबनाउँदै लुम्बिनीको बलिङ सिकार बने। अस्ट्रेलियन ब्याटर साम हेजलेटले पनि लुम्बिनीको बलिङ चुनौतीलाई सामना गर्न सकेनन्। लगातार उत्कृष्ट बलिङ र धैर्यपूर्वक ब्याटिङपछि लुम्बिनी अहिले फाइनलमा पुगेको छ।
उपाधिकै दाबेदारका रूपमा हेरिएको अर्को बलियो टोली विराटनगरविरुद्ध सहज जित निकालेको लुम्बिनी सुदूरपश्चिमसँग शनिबार खेल्दै छ। फेरि लुम्बिनीले प्लेअफको तेस्रो प्रतिस्पर्धामा पनि आश्चर्यचकित पार्ला त? यद्यपि, धेरैका अनुमान र विश्लेषणमा सुदूरपश्चिम बलियो छ। यो कम्प्लिट टोली हो र सुदूरपश्चिमलाई पार गर्न सहज छैन।
हुन पनि हो। सुदूरपश्चिम कमजोर भने छैन। लिगको अन्तिम खेलमा विराटनगरसँग बाहेक सुदूरपश्चिमले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको छ। यस सिजनका आठमध्ये सात खेल जितेको टोली पनि हो सुदूरपश्चिम। त्यसैले साबिक उपविजेता कमजोर भने पक्कै छैन। कप्तान दीपेन्द्रसिंह ऐरीको सनसनीपूर्ण जोस नै सुदूरपश्चिमको आत्मविश्वास हो।
साथै ब्याटिङ, बलिङ र फिल्डिङमा सुदूरपश्चिमले उत्कृष्ट प्रस्तुति दिँदै आएको छ। जुन कुरा सर्वाधिक रनकर्ता र विकेटकर्ताको सूचीले पनि प्रमाणित गर्छ। सुदूरपश्चिमका ब्याटर विनोद भण्डारी र बलर अविनाश बोहोरा क्रमशः सर्वाधिक रनकर्ता (२६४ रन) र विकेटकर्ता (१६ विकेट) को सूचीमा दोस्रो स्थानमा छन्।
कप्तान दीपेन्द्र, आरिफ शेख र पछिल्ला खेलबाट नै डेब्यु गरेका शेल्डन ज्याक्सन र मुख्तर अहमद पनि सुदूरपश्चिमको ब्याटिङमा महत्त्वपूर्ण साबित हुन सक्छन्। बलिङमा अविनाशसँगै स्पिनर हरमित सिंह र स्कट कुग्गेलिन सुदूरपश्चिमका हतियार हुन्। जसले विराटनगरसँगको पहिलो क्वालिफायरमा उत्कृष्ट खेलेका थिए तर लुम्बिनीको ब्याटिङभन्दा बलिङ उत्कृष्ट छ।
स्पिनर शेर मल्ल र तीव्र गतिका बलर रुबेन ट्रम्पेलमेनको बलिङ सुदूरपश्चिमका लागि सबैभन्दा चुनौती बन्न सक्नेछन्। यी दुईले नै प्लेअफका पछिल्ला दुई खेल (काठमान्डु र विराटनगर) को शीर्ष क्रम ध्वस्त पारेका थिए।
शेर सर्वाधिक विकेटकर्ताको सूचीमा तेस्रो (१४ विकेट) स्थानमा छन्। ट्रम्पलमेनले पनि १२ विकेट लिइसकेका छन्। कप्तान रोहितको अलराउन्ड प्रदर्शन पनि लुम्बिनीको सफलताको आधार हो। यद्यपि, उनले अहिलेसम्म अर्धशतक भने पूरा गर्न सकेका छैनन्। लुम्बिनीको कमजोर ब्याटिङमा उनले धैर्यपूर्वक खेलेर साथ दिएका छन्। रोहित सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो (२६० रन) स्थानमा छन्।
साथै उनले सात विकेट पनि लिएका छन्। युवा स्पिनर अभिशेष गौतम र तिलक भण्डारीले आफ्नो स्पिनबाट विपक्षीको ब्याटिङलाई चुनौती दिँदै आएका छन्। जुन चुनौती सुदूरपश्चिमका लागि पनि बन्न सक्छ। त्यसैले शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी र सुदूरपश्चिम फाइनलका लागि एकअर्काका बलिया प्रतिस्पर्धी हुनेछन् तर पहिलो उपाधि जित्ने दबाब दुवैलाई हुन सक्नेछ।
प्रकाशित: २७ मंसिर २०८२ ०६:४६ शनिबार





