१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

नेपाली धावकद्वय सनमाया र रनमायालाई थाइल्याण्डमा सम्मान

थाइल्याण्डको प्रसिद्ध पर्यटकीय गन्तव्य च्याङ्गमाईमा हालै आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता ‘युटिएमबि’ १०० किलोमिटर चियाङ माई थाइल्याण्ड’ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली धावकद्वयलाई नेपाली राजदूतावास बैंककले सम्मान गरेको छ।  

जुम्ला जिल्ला निवासी धावकद्वय सनमाया बुढा र रनमाया बुढा ले प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राखेको भन्दै राजदूतावासले सम्मान गरेको हो। १०० किलोमिटर लामो ट्रेल रनमा सनमाया बुढाले चौथो स्थान हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रिय धावन मानचित्रमा चिनाएकी थिइन्। साथै रनमाया बुढाले ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी हुँदै सातौं स्थान हासिल गरेकी थिइन्।  

उक्त प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिने युटिएमबि शृंखला अन्तर्गत आयोजना गरिएको थियो। यसमा थाइल्याण्डको उत्तरी पहाडी भू–भाग, जङ्गल र कठिन भौगोलिक संरचनालाई समेटिएको थियो। जहाँ विश्वभरका व्यावसायिक धावकहरूको सहभागिता रहेको थियो।  

धावकद्वयको ऐतिहासिक सफलताको कदर गर्दै नेपाली राजदूतावास, बैंककमा आयोजित एक विशेष सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।  

कार्यक्रममा सहभागी थाई नेपाली सङ्घ थाइल्याण्डका पूर्वअध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहन स्वरूप नेपाली एक लाख आर्थिक सहयोग प्रदान गरेका छन्। साथै कार्यक्रममा उपस्थित अन्य नेपाली समुदायका प्रतिनिधिहरू तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले पनि आ–आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: २८ मंसिर २०८२ ०७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App