अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो। नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुईदुई ट्वान्टी–२० खेल्नेछ। पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ।
त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ। यो खेल बिहान ५ः४५ मा सुरु हुने छ। यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–२० सिरिज पनि खेल्नेछ। उक्त सिरिज यही साउन २९ देखि भदौ ८ गतेसम्म हुँदैछ।
त्यहाँ नेपालले अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त खेल खेल्न लागेको हो।
प्रकाशित: २९ श्रावण २०८२ ११:५२ बिहीबार





