अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको छ। एकेडेमीको दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रनमा समेटियो ।
नेपालका लागि आसिफ शेखले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए। यसअघि नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसंग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ए सँग पराजित भएको थियो। नेपालले अर्को खेल होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
प्रकाशित: २ भाद्र २०८२ ११:१८ सोमबार




