३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

घरेलु मैदानमा अधुरै रह्यो विश्वकप सपना

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्याण्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको पहिलो पटक विश्वकप खेल्ने ऐतिहासिक सपना अधुरै रहेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु समर्थकको उपस्थिति बाबदुत महिला टोलीले पराजय भोग्नुपर्‍यो।

जीत निकाल्नै पर्ने दबाबपूर्ण खेलमा ब्याटिङ र फिल्डिङ दुवै पक्षमा चुक्दा नेपालले प्रतियोगिताको समूह चरणबाटै बाहिरिनु परेको हो।

सोमबार बिहान टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। कप्तान इन्दु बर्माको यो निर्णयलाई सही साबित गर्दै नेपाली बलरहरूले इनिङको सुरुवातमै स्कटल्याण्डमाथि हाबी हुने सङ्केत देखाएका थिए।

नेपालले पहिलो ओभरको दोस्रो बलमै क्याथरिन फ्रेजरलाई गुमाउँदै स्कटल्याण्डलाई पहिलो झड्का दिएको थियो। त्यसबेला स्कोरबोर्डमा जम्मा ४ रन मात्र थियो। लगत्तै सोही ओभरको चौथो बलमा डार्सी कार्टरलाई पनि पेभिलियनको बाटो देखाएपछि स्कटल्याण्ड दबाबमा आएको थियो।

नेपालकी मनिषा उपाध्यायले घातक बलिङ गर्दै सुरुवाती समयमा स्कटल्याण्डको ब्याटिङ लाइनअपलाई ध्वस्त पारेकी थिइन्।

४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिएकी मनिषाको प्रदर्शन लोभलाग्दो थियो। रुबिना क्षेत्रीले पनि ४ ओभरमा २३ रन दिएर ३ विकेट लिँदै साथ दिइन्। एक समय स्कटल्याण्डले ७९ रन बनाउँदा ६ विकेट गुमाइसकेको अवस्था थियो र खेल पूर्ण रूपमा नेपालको नियन्त्रणमा देखिन्थ्यो।

तर, तल्लो क्रममा स्कटल्याण्डले उत्कृष्ट पुनरागमन गर्‍यो। प्लेयर अफ द म्याच घोषित प्रियनाझ चटर्जीले अविजित रहँदै २८ बलमा ७ चौकाको मद्दतले ४५ रनको आक्रामक पारी खेलिन्।

उनलाई अन्य तल्लो क्रमका ब्याटरले साथ दिँदा स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको सम्मानजनक र चुनौतीपूर्ण योगफल तयार पार्‍यो।

खेलपछि प्रतिक्रिया दिँदै टोलीकी अनुभवी खेलाडी सीता राना मगरले भनिन्, ‘हामीले स्कटल्याण्डलाई १२० रनसम्म रोक्ने योजना बनाएका थियौं। तर उनीहरूले अन्तिममा धेरै राम्रो खेले। हामी फिल्डिङमा पनि नराम्ररी चुक्यौं, ३-४ वटा रोक्नुपर्ने चौका मिस भए, जसले नतिजामा ठूलो असर पार्‍यो’

ब्याटिङमा लज्जास्पद प्रदर्शन: ६८ रनमै समेटियो नेपाल

१४१ रनको मध्यम तर चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालको ब्याटिङ भने तासको महल झैं ढल्यो। घरेलु मैदान र समर्थकको साथ हुँदाहुँदै पनि नेपाली ब्याटरहरू क्रिजमा टिक्न सकेनन्। नेपाल १३.५ ओभरमा केवल ६८ रन बनाउँदै अलआउट हुन पुग्यो।

नेपालको इनिङमा ओपनर बिन्दु रावल र रोमा थापाले बनाएको समान १४-१४ रन नै सर्वाधिक व्यक्तिगत स्कोर बन्न पुग्यो। अर्का सिनियर खेलाडी रुबिना क्षेत्रीले १० रन जोडिन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

जिम्बाब्वेविरुद्धको ऐतिहासिक जितमा नायक बनेकी पूजा महतो आज २ रनमै पेभिलियन फर्किँदा नेपालको आशा कमजोर बनेको थियो।

टोलीका कप्तान इन्दु बर्मा ५ रन बनाएर रिटायर्ड हर्ट भई मैदान छाड्नुले पनि टोलीको मनोबलमा असर पारेको देखिन्थ्यो। १ विकेटको क्षतिमा १५ रन र २ विकेटको क्षतिमा २४ रनको स्थितिबाट नेपालको पतन सुरु भएको थियो।

स्कटल्याण्डको तर्फबाट अब्ताहा मकसुदले ३ तथा क्याथरिन ब्राइस र क्याथ्रिन फ्रेजरले समान २–२ विकेट लिँदै नेपाललाई सस्तैमा समेटे।

सीता राना मगरले ब्याटिङको असफलता स्वीकार्दै भनिन्, ‘आज हाम्रो सुरुवात बलिङमा एकदमै राम्रो थियो, तर ब्याटिङमा हामी नराम्ररी चुक्न पुग्यौं। यदि ब्याटिङ राम्रो गरेको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो।’

नेपालका लागि यो छनोट प्रतियोगिता विशेष महत्त्वको थियो। आइसीसीको यति ठूलो इभेन्ट आयोजना गर्नु नेपालका लागि गौरवको विषय त थियो नै, साथमा घरेलु मैदान र दर्शकको अपार समर्थनले खेलाडीहरूलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको थियो।

गत वर्ष थाइल्याण्डमा भएको एसिया क्षेत्र छनोटको उपविजेता बन्दै ग्लोबल छनोटमा स्थान बनाएको नेपालले आफ्नै भूमिमा विश्वकपको टिकट काट्ने योजना बनाएको थियो। तर, प्रतियोगिताको सुरुवादेखि नै उतारचढावपूर्ण प्रदर्शन गरेको नेपालले अन्ततः समूह चरण पार गर्न सकेन।

‘समग्रमा हाम्रो लागि यो प्रतियोगिता निकै फलदायी रह्यो। हामीले यसअघि यति ठूलो स्तरको प्रतियोगिता र यति बलिया टोलीहरूसँग खेलेका थिएनौं। अनुभवका हिसाबले यो एकदमै राम्रो भयो,’ सीताले प्रतियोगिताको अनुभवबारे बताइन्।

काठमाडौंमा जारी यस प्रतियोगितामा सहभागी १० टोलीमध्ये ६ टोलीले सुपर सिक्स (दोस्रो चरण) मा स्थान सुरक्षित गरेका छन् भने नेपालसहित ४ टोलीको यात्रा यहीँ टुंगिएको छ।

नेपाल रहेको समूह ‘बी’ बाट थाइल्याण्ड, नेदरल्यान्ड्स र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गरेका छन्। नेपालले जिम्बाब्वेलाई हराए पनि अन्य खेलमा नतिजा गुमाउँदा अघिल्लो चरणमा पुग्न असफल भयो।

त्यस्तै, समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिकाले दोस्रो चरणमा प्रवेश पाएका छन्।

अब सुपर सिक्समा पुगेका यी ६ टोलीमध्ये शीर्ष ४ टोलीले यही वर्षको जुन महिनामा इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।

प्रकाशित: १२ माघ २०८२ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App