१९ आश्विन २०८३ सोमबार
image/svg+xml
खेल

नेसन्स लिग फुटबल : इजरायलविरुद्ध आयरिस खेलाडीको विरोधको शैली चर्चामा

नेसन्स लिग फुटबल खेलमा आयरल्यान्डका खेलाडीले गाजामा इजरायलको कारबाहीको विरोध गर्दै फेरि पाखुरामा कालो पट्टी बाँधेर विरोध जनाएका छन्।

आइतबार सर्बियाको बाक टोपालामा भएको खेलअघि इजरायली राष्ट्रिय गान बज्दा आयरिस खेलाडीले टाउको निहुराएका थिए। खेल १-१ को बराबरीमा सकियो। इजरायली खेलाडीले भने सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा मारिएकाहरूको सम्झनामा कालो पट्टी लगाएका थिए। इजरायलका कप्तान डोर पेरेट्जको पट्टीमा ‘७.१०’ लेखिएको थियो।

आयरल्यान्डका गोलकिपर काओइमहिन केल्हेरले कप्तानको जिम्मेवारी सम्हालेका थिए। उनले रेफ्री र उनका सहायकसँग हात मिलाए पनि इजरायली कप्तान पेरेट्जसँग हात मिलाउन अस्वीकार गरे। यसअघि हंगेरीमा भएको पहिलो खेलमा आयरल्यान्डका कप्तान दारा ओ’शियाले पनि इजरायली कप्तान मनोर सोलोमनसँग हात मिलाएका थिएनन्।

आयरल्यान्डले पहिलो हाफको ३९औँ मिनेटमा ट्रय पेरोटको पेनाल्टीमार्फत अग्रता लिएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै पेरेट्जले इजरायलका लागि बराबरी गोल गरे। इजरायलविरुद्धको खेल बहिष्कार गर्न आयरल्यान्डमा दबाब बढे पनि टोलीले खेल खेल्ने निर्णय गरेको थियो।

आयरल्यान्ड फुटबल संघले व्यापक बहिष्कारको आह्वानपछि आइतबारको खेल डब्लिनबाट सारेर तटस्थ मैदानमा गराएको थियो। खेल दर्शकबिना खेलाइएको थियो।

आयरल्यान्डका १६० भन्दा बढी खेलाडीले दुई खेल खेलाउने निर्णयमा पुनर्विचार गर्न फुटबल संघलाई आग्रह गर्दै खुला पत्रमा हस्ताक्षर गरेका थिए। तर रिजर्भ गोलकिपर गेभिन बाजुनोले व्यक्तिगत कारण देखाउँदै दुवै खेल नखेल्ने निर्णय गरेका थिए।

आयरल्यान्डको राष्ट्रिय प्रसारक आरटीईले इजरायलविरुद्धका दुवै खेलको सीमित प्रसारण मात्र गरेको थियो। खेलमा स्टुडियो प्रस्तुति, कमेन्ट्री वा विश्लेषण राखिएको थिएन। एपी

प्रकाशित: १९ आश्विन २०८३ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App