नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमान्डु गोर्खाजले व्यवस्थापनासँगै आफ्नो लोगोमा पनि पनि परिवर्तन गरेको छ ।
काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि प्रशिक्षण टोलीको नेतृत्व र व्यवस्थापकीय भूमिका केही परिवर्तन गरेको थियो । बिहीबार एक कार्यक्रमका बीच पहिलो संस्करणको लोगोलाई पनि परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् । कार्यकारी निर्देशक र सिइओमा यसैपल्ट देखि नयाँ व्यक्तिलाई जिम्मेवारी प्रदान गरिएको हो । उक्त लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ ।
काठमान्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ । काठमान्डु गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटाको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ । यसै क्षेत्रका समर्थकलाई पनि समेट्ने काठमान्डु गोर्खाजको योजना छ । बिहीबार नै भएको पत्रकार सम्मेलनमा काठमान्डु गोर्खाजले आगामी सिजनका लागि मुख्य प्रायोजकका रूपमा वल्र्ड लिंकसँग र हस्पिटालिटी पार्टनरका रोयल टुलिप काठमाडौंसँग सहकार्य गरेको छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वल्र्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालसँग र रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।
गत सिजन काठमान्डु प्लेअपमा पुग्न असफल भएको थियो । तेस्रो र चौथो स्थानका टोलीसँग सामना अंक भए पनि नेट रनरेटमा पछि पार्दा काठमान्डु पाँचौं स्थानमा सीमित भएको थियो । यसपल्ट काठमान्डुले व्यवस्थापन, लोगो र प्रशिक्षकमा पनि परिर्वतन गरेको हो । नेपाली राष्ट्रिय टोली समालिसकेका मोन्टी देसाई काठमान्डु गुर्खाजको प्रशिक्षकमा नियुक्त भइसकेका छन् । उनको प्रशिक्षण टोलीमा वसन्त शाही हुनेछन् । शाही यसअघि टोलीका मुख्य प्रशिक्षक थिए । काठमान्डु गोर्खाजको मार्की खेलाडी करण केसी हुन् । उनले आगामी सिजन उपाधि जित्ने आशा व्यक्त गरेका छन् ।
काठमान्डु गोर्खाजले भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरिसकेको छ । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोलीले अपग्रेड गरे मात्र एनपिएलको स्तर विकास हुने आशा व्यक्त गरेका छन् ।
प्रकाशित: ९ श्रावण २०८२ २०:२७ शुक्रबार





