मोरक्कोले फिफा विश्वकप २०२६ मा स्ट्राइकर इस्माइल साइबारीको कीर्तिमानी सुरुवाती गोलको मद्दतले स्कटल्याण्डमाथि जित निकालेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा शनिबार सम्पन्न समूह 'सी' को खेलमा मोरक्कोले स्कटल्याण्डलाई १-० गोलअन्तरले पराजित गर्यो। यो जितसँगै २ खेलबाट ४ अंक जोड्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ। उसले लगातार दोस्रो पटक नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
खेल सुरु भएको मात्र ७२ सेकेन्ड (दोस्रो मिनेट) मा साइबारीले गरेको गोल नै मोरक्कोका लागि निर्णायक बन्यो। ब्राहिम डियाजले स्कटिश डिफेन्डरहरूको माथिबाट मिलाइदिएको सुन्दर पासलाई नियन्त्रणमा लिँदै साइबारीले गोलकिपर एंगस गनको पहुँचभन्दा बाहिर बललाई नेटको माथिल्लो कुनामा प्रहार गरेका थिए।
यो गोल फिफा विश्वकप २०२६ कै अहिलेसम्मको सबैभन्दा छिटो गोल हो। साथै, विश्वकप इतिहासमा मोरक्कोका तर्फबाट भएको यो सबैभन्दा छिटो गोल पनि हो। यस गोलसँगै साइबारी इजिप्टका मोहम्मद सलाह (२०१८) पछि विश्वकपका आफ्ना सुरुवाती दुई खेलमै गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन्। यसअघि ब्राजिलविरुद्धको पहिलो खेलमा पनि उनले नै गोल गरेका थिए।
खेलको दोस्रो हाफमा पनि मोरक्कोले केही राम्रा अवसर सिर्जना गर्यो। ५२औँ मिनेटमा अच्राफ हाकिमीको कर्नर किकमा बिलाल एल खानौसले गरेको उत्कृष्ट हेडरलाई स्कटल्याण्डका गोलकिपर गनले विफल पारिदिए। त्यसअघि साइबारीको अर्को एउटा प्रहार बारमा ठोकिएर बाहिरिएको थियो।
गत विश्वकपको सेमिफाइनलिष्ट मोरक्कोविरुद्ध स्कटल्याण्डले खेलको अन्तिम १५ मिनेटमा बराबरीका लागि निकै दबाब दियो। जोन म्याकगिन, बेन ग्यानन-डोक र स्कट म्याकटोमिनेले लगातार आक्रमण बुने पनि मोरक्कोको रक्षापङ्क्ति तोड्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा एन्डी रोबर्टसनको क्रसमा म्याकगिनले गोल गर्ने सुनौलो मौका गुमाएका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरक्कोका इस्माइल साइबारी 'प्लेयर अफ द म्याच' घोषित भए। पराजित स्कटल्याण्डको २ खेलबाट ३ अंक छ।
प्रकाशित: ६ असार २०८३ ०६:५१ शनिबार





