विश्वकप २०२६ को समूहचरणमा हुने केही सीमित युरोपेली राष्ट्रहरूबीचको भेटमध्ये एकमा नेदरल्यान्ड्स र स्विडेन आमनेसामने हुँदै छन्।
ह्युस्टन स्टेडियममा शनिबार दुवै टोली पहिलो खेलपछि सकारात्मक लय समात्ने लक्ष्यमा छन् । विश्वकपको फाइनल खेले पनि उपाधि जित्न नसकेका राष्ट्रहरूमध्ये नेदरल्यान्ड्स र स्विडेन पनि पर्छन् । नेदरल्यान्ड्स सन् १९७४, १९७८ र २०१० मा फाइनल पुगेको थियो । सन् १९५८ मा उपविजेता बनेको टोली हो, स्विडेन । त्यसैले दुवै टोली यसपटक लामो यात्रा तय गर्ने महत्वाकांक्षासहित मैदान उत्रिनेछन् । पहिलो खेलमा जापानविरुद्ध जितनजिक पुगेर पनि नेदरल्यान्ड्सले अन्तिम समयमा बराबरी बेहोर्नुपर्यो । डाइची कामादाले ८८औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरीमा टुङ्गिएको थियो । भर्जिल भान डाइक र क्राइसेन्सियो समरभिलका गोलले डच टोलीलाई दुई पटक अग्रता दिलाए पनि जोगिएन।
यद्यपि उक्त खेलमा केही सकारात्मक पक्ष पनि देखिए । कप्तान भान डाइकले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो पहिलो गोल गरे । समरभिलको पनि डेब्युमा नै गोल सम्भव भयो । रियान ग्राभेनबर्खले दुवै गोलमा अवसर सिर्जना गर्दै उत्कृष्ट प्रदर्शन गरे । स्विडेनले भने पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराउँदै विश्वकपमा प्रभावशाली सुरुआत गरेको टोली हो । यासिन अयारीले खेलको सुरुमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । अलेक्जेन्डर इसाक, भिक्टर ग्योकेरेस र माटियास स्वानबर्ग पनि गोलकर्ताको सूचीमा रहे । अयारीले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै स्विडेनको सानदार जित सुनिश्चित गरेका थिए । इसाक उत्कृष्ट लयमा देखिनु स्विडेनका लागि महŒवपूर्ण पक्ष हो।
उनले एक गोलका साथै दुई एसिस्ट गरे । कुल तीन गोलमा इसाकको प्रत्यक्ष योगदान रह्यो । स्वानबर्ग मैदान प्रवेश गरेको १८ सेकेन्डमै गोल गर्दै विश्वकप इतिहासका सबैभन्दा छिटो गोल गर्ने वैकल्पिक खेलाडीमध्ये एक बन्न सफल भए । इतिहास हेर्दा नेदरल्यान्ड्स र स्विडेनबिच २० पटक भेट भएको छ । तीमध्ये नेदरल्यान्ड्सले ९ खेल जितेको छ । स्विडेनले ७ खेल आफ्नो पक्षमा पारेको आँकडा छ । पछिल्ला सात भेटमध्ये स्विडेनले केवल एक खेल मात्र जितेको छ । विश्वकपमा भने यी दुई टोलीको यो दोस्रो भेट हो । सन् १९७४ मा भएको पहिलो विश्वकप भेट गोलरहित बराबरीमा समाप्त भएको थियो । पहिलो खेलमा स्विडेनले आक्रामक प्रदर्शन गर्यो।
समग्र अनुभव, खेलाडीको गुणस्तर र प्रतिस्पर्धात्मक रेकर्डका आधारमा नेदरल्यान्ड्सलाई दाबेदार मानिएको छ । २५ हजारभन्दा बढी कम्प्युटर सिमुलेसनका आधारमा नेदरल्यान्ड्सको जित्ने सम्भावना ५५.९ प्रतिशत रहेको छ । स्विडेनको जित्ने सम्भावना २०.८ प्रतिशत मात्र आँकलन गरिएको छ । खेल बराबरी हुने सम्भावना २३.३ प्रतिशत रहेको छ । जापानसँगको निराशाजनक बराबरीपछि डच टोली पहिलो जितको खोजीमा हुनेछ । स्विडेन लगातार दोस्रो जित निकाल्दै नकआउट चरणनजिक पुग्न चाहन्छ । त्यसैले समूह ‘एफ’ को यो प्रतिस्पर्धा निकै रोमाञ्चक र निर्णायक बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ६ असार २०८३ ०६:४४ शनिबार





