१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

मेस्सीको भारत भ्रमण : फ्यानद्वारा कुर्सी फ्याँकेर रंगशाला तोडफोड, आयोजक गिरफ्तार

अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीको बहु प्रतीक्षित भारत भ्रमणको पहिलो दिन कोलकाताको साल्ट लेक रंगशालामा ठुलो हंगामा भएको छ। 

मेस्सीले करिब २० मिनेट मात्र बिताएपछि निराश फ्यानले कुर्सी निकालेर फ्याँके, बोतल प्रहार गर्नुका साथै मैदानमा प्रवेश गरेर तोडफोड गरेका थिए। भिभिआइपीहरूले घेरिएका मेस्सीलाई धेरैले राम्रोसँग देख्नै पाएनन्।

भारतीय संचारमाध्यमका अनुसार टिकट काटेर घण्टौँ कुर्नेहरूले व्यक्तिगत रूपमा वा ठुला स्क्रिनमा पनि मेस्सीलाई देख्न पाएनन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कार्यक्रमको खराब ब्यवस्थापनका लागि अर्जेन्टिनाका फुटबल स्टारसँग माफी मागिन्।

‘आज साल्ट लेक रंगशालामा देखिएको अव्यवस्थाबाट म गहिरो रूपमा विचलित र स्तब्ध छु,’ बनर्जीले शनिबार सामाजिक सञ्जालमा लेखिन्। उनले टिकटको पैसा तिरेर बढी आशा गर्ने प्रशंसकहरूसँग पनि माफी मागिन्।

यो घटनामा पुलिसले स्वतः संज्ञान लिएर मुख्य आयोजक सतद्रु दत्ताविरुद्ध एफआईआर (उजुरी) दर्ता गरेको छ। उनलाई कुप्रबन्धन र तोडफोडको आरोपमा गिरफ्तार गरिएको छ। यो उजुरी दंगा भड्काउने, सार्वजनिक सम्पत्ति नोक्सान पुर्‍याउने लगायतका धारामा दर्ता भएको छ। 

ममता बनर्जीले घटनाको विस्तृत छानबिनका लागि न्यायिक समिति पनि गठन गरेकी छिन्। आयोजकले टिकट रकम फिर्ता दिने लिखित प्रतिबद्धता जनाएका छन्।

मेस्सी तीन दिने ‘जीओएटी इन्डिया’ भ्रमणमा भारतमा छन्, जुन सोमबार सकिनेछ। भ्रमणको पहिलो दिन शनिबार उनले कोलकाता र हैदराबादमा प्रशंसकहरूलाई भेटे। आज उनले मुम्बईमा भारतीय क्रिकेटर सचिन तेन्दुलकर र फुटबल स्टार सुनिल क्षेत्रीलाई भेट्नेछन्। मेस्सीलाई भेट्न धेरै सेलिब्रेटीहरू वानखेडे रंगशालामा पुग्ने अपेक्षा छ।

मेस्सी शनिबार बिहान तीन बजेतिर कोलकाता विमानस्थलमा पुगेका थिए। बिहान नै उनले आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल उद्घाटन गरेका थिए। सो अवसरमा बलिउड अभिनेता शाहरुख खान पनि उपस्थित थिए। उनी साल्ट लेक रंगशालामा करिब एक घण्टा बस्ने कार्यक्रम थियो, तर २० मिनेटपछि नै निस्किए। 

दिउँसो कोलकताबाट निस्किएका मेस्सी साँझ हैदराबाद पुगेका थिए। त्यहाँ उनले उप्पल रंगशालामा साथी रोड्रिगो डे पल र लुइस सुआरेजसँग मिलेर फ्यानतर्फ फुटबल फ्याँके। सो अवसरमा उनले तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र विपक्षी नेता राहुल गान्धीसँग पनि भेट गरेका थिए। साथै उनले बच्चाहरूसँग फुटबल पनि खेलेका थिए। एजेन्सी

प्रकाशित: २८ मंसिर २०८२ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App