मरिक फुटबल क्लव धरानले ताप्लेजुङमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाईनलमा स्थान बनाएको छ ।
मरिकले पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको एकमात्र अन्तराष्ट्रिय टोली भारत सिलगुढीको पारिजात संघ फुटबल क्लवलाई ३–१ ले पराजित गरी सेमीफाईनल पुग्ने तेस्रो टोलीको रुपमा स्थान बनाएको हो ।
सिरिजङ्गा गोल्डकपको पहिलो र दोस्रो क्वाटर फाइनल खेल जित्दै आयोजक तेल्लोक स्पोर्टिङ क्लव र झापाको न्यू स्टार फुटबल क्लव सेमीफाईनल पुगिसकेका छन् ।
बिहीबारको तेस्रो क्वाटर फाइनल खेलको सुरुआती अग्रता भने पारिजात संघ फुटबल क्लवले लिएको थियो । अभिनय तामाङको कर्नर किकलाई हेडमार्फत गोल गर्दै पारिजातका अनुज राईले गोल गरे ।
चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपबिजेता समेत रहेको मरिकका लागि नानाले पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
मध्यान्तर समयको केहि अवधि बाँकी रहँदा फोफोनाले मरिकका लागि उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । मध्यान्तर पछिको खेलमा फेरि फोफोना चम्किए । उनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।
उनको यो गोलसंगै मरिकलाई सेमीफाइनलमा स्थान बनाउन पर्याप्त भयो । पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको एकमात्र अन्तराष्ट्रिय टिम पारिजात भने पहिलो खेलबाटै घर फर्किएको छ ।
मरिक तीन बिदेशी खेलाडी सहित मैदानमा थियो । यसअघि सेमीफाइनल पुगेका तेल्लोक स्पोर्टिङ क्लव र न्यू स्टार फुटबल क्लव झापा भने टाईब्रेकरबाट सेमीफाईनलमा स्थान बनाउन सफल भएका थिए ।
शुक्रबार चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा साँगुरीगढी फुटबल क्लब धनकुटाले म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमसंग स्पर्धा गर्दै पहिलो चरणका खेल समाप्त गर्ने छ ।
खेलका बिजेताले ३ लाख ३२१ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको तीनबर्षे रनिङ ट्रफी र उपबिजेताले १ लाख ५० हजार ३२१ रुपैयाँका साथ ट्रफी पाउने छ ।
प्रकाशित: २५ मंसिर २०८२ १७:२९ बिहीबार





