ताप्लेजुङको सिदिङ्वामा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५४ स्वर्णको स्पर्धा सकिँदा मैवाखोला गाउँपालिकाको अग्रता कायमै रहेको छ।
आइतबार दोस्रो दिनको खेल सकिँदा आठराई त्रिबेणी गाउँपालिकाले पदकमा सुधार गरेको छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बूका अनुसार आइतवार साँझसम्ममा कुल १ सय ९८ पदकको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार मैवाखोला गाउँपालिका २१ स्वर्ण,१४ रजत र ११ कास्यसहित ४६ पदकका साथ पहिलो स्थानमा रहेको छ।
आठराई त्रिबेणी गाउँपालिका ११ स्वर्ण,१२ रजत र १८ कास्य पदकसहित दोस्रो स्थानमा रहँदा फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाले समान ७–७ स्वर्ण जितेका छन्। सिदिङ्वाले १० रजत र १५ कास्य पदकसहित ३२ पदक जित्दा फुङलिङले ८ रजत र २२ कास्यसहित ३७ पदक जितेको छ।
मिक्वाखोला गाउँपालिकाले ३ स्वर्ण,३ रजत र १५ कास्य गरी २१ पदक जितेको छ। मेरिङदेन गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाले समान २–२ स्वर्ण पदक जितेका छन्। मेरिङदेनले ५ स्वर्ण र ५ रजत पदकसहित कुल पदकको संख्या १२ पुर्याएको छ भने सिरिजङ्गाले १ रजत र ३ कास्यसहित ६ पदक हाँसिल गरेको छ।
पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण,१ रजत र १ कास्य पदकसहित ३ पदक हातमा पार्दा फक्ताङलुङ गाउँपालिका पदकविहीन छ। अब १२ स्वर्ण र १२ रजतसहित कास्य पदकका लागि सोमवार स्पर्धा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। कराँते,तेक्वादो,उसु र भलिबल खेलमा कास्य पदक दोहोरो(डबल) हुने भएकोले कास्यको संख्यामा यसअघि भनिएको ७० पदक संख्याबाट बृद्धि भएको बताइएको छ।
शुक्रबारबाट सिदिङ्वा गाउँपालिकाको केन्द्र रहेको साब्लाखुस्थित टावरडाँडा खेल मैदानमा सुरु १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवार सकिदैं छ।
प्रकाशित: २५ माघ २०८२ १९:५१ आइतबार





