प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजा अनुसार दुईवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी अग्रता लिएको छ भने एउटा क्षेत्रमा नेकपा एमाले अगाडि देखिएको छ।
क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश चौधरीले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पारेका छन्। चौधरीले १७ हजार ९४६ मत प्राप्त गर्दा उनलाई नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले ६ हजार ४८० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेकपा एमालेका सूर्यप्रसाद ढकालले ४ हजार ५४५ मत प्राप्त गरेका छन्। यहाँ चौधरी र गौडेलबीचको मतान्तर ११ हजार ४६६ रहेको छ।
क्षेत्र नम्बर २ मा भने नेकपा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता कायम गरेका छन्। राईले ११ हजार १५४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुधांशु कोइराला ७ हजार ९०७ मतका साथ दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ ७ हजार २०१ मतसहित तेस्रो स्थानमा देखिएका छन्।
क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै खगेन्द्र सुनारले अग्रता लिइरहेका छन्। सुनारले १४ हजार ९१ मत प्राप्त गर्दा नेकपा एमालेका सुमन मल्लले ७ हजार ९५१ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका अमरसिंह पुन ४ हजार ३६२ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १९:२१ शुक्रबार





