लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा च्याम्पियन ट्रफी उचाल्दा कप्तान रोहितकुमार पौडेल र स्पिनर शेर मल्लका लागि विशेष दिन नै बन्यो।
हुन त च्याम्पियन बन्नु सबै कप्तान र टोलीका सदस्यका लागि विशेष नै हुन्छ तर लुम्बिनीको सफलताको कथा अली फरक र रोचक नै छ। किनकि उतारचढाव र आलोचनाका बीच रोहितले लुम्बिनीलाई च्याम्पियनको ट्रफी दिलाएका हुन्।
लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको जितपछि शनिबार एनपिएलको उपाधि उचाल्यो। यससँगै दोस्रोपल्ट पनि सुदूरपश्चिम उपाधि जित्न असफल भयो। पहिलो संस्करणमा पनि फाइनलमा जनकपुर बोल्ट्सँग पराजित हुँदा सुदूरपश्चिम उपाधिविहीन बन्नु परेको थियो। यसल्ट सुरुदेखि नै सुदूरपश्चिम दाबेदारकै रूपमा हेरिएको टोली हो।
फाइनल यात्रासम्म सुदूरपश्चिमले सोहीअनुरूप प्रदर्शन पनि गर्यो। तथापि उपाधि जित्ने दबाब खेपेपछि सुदूरपश्चिम फेरि असफल भयो। फाइनलमा कुनै समय पनि सुदूरपश्चिम हाबी हुन सकेन। खेलमा लुम्बिनीको एकपक्षीय नै रह्यो।

गत सिजन पुछारको टोली लुम्बिनीलाई प्लेअफको सबैभन्दा कमजोर टोलीको रूपमा हेरिन्थ्यो तर कप्तान रोहित स्वयम् आफ्नो टोली बलियो नै देख्थे। लिगका अन्तिम खेलमा जसरी लुम्बिनीले प्रदर्शन गरेको छ, त्यो नै प्लेअफका लागि बलियो आधार उनी मान्थे। लिगचरण पूरा भएपछि आफूले दिएको प्रतिक्रियालाई कप्तान रोहितले शनिबार प्रमाणित पनि गरिदिए। त्यो पनि उत्कृष्ट र रबाफिलो शैलीमा।
लिगको शीर्ष तीन स्थान (सुदूरपश्चिम, विराटनगर किङ्स र काठमान्डु गोर्खाज) का टोलीविरुद्धको प्लेअफमा लुम्बिनीले एकपक्षीय दबदबा नै बनायो। तीनै टोलीका शीर्ष क्रमसँग लुम्बिनीको बलिङसामु जबाफ थिएन। विशेष त नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमेन र स्पिनर शेर मल्लको बलिङसामू तीनै टोलीका शीर्ष क्रम सहजै बाहिरिन बाध्य भए। उनै शेर लुम्बिनीको सफलतामा अर्का नायक नै हुन्। उनी लगातार दोस्रो सिजन च्याम्पियन टोलीको सदस्य पनि भए। जनकपुर पहिलो सिजन च्याम्पियन हुँदा शेर पनि टोलीका महत्त्वपूर्ण सदस्य थिए तर यसपल्ट जनकपुरले उनलाई रिटेन गरेन।
मिनी अक्सनबाट लुम्बिनी पुगेका शेरले आफ्नो महत्त्व साबित गरिदिए। तब मात्र यो सिजन पनि उनका लागि विशेष बन्यो। किनकी उनी एसोसिएट क्रिकेटकै स्टार बलर सन्दीप लामिछाने र घरेलु क्रिकेटका अर्का अनुभवी बलर अविनाश बोहोरासँगै सिजनको सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त पहिलो स्थानमा रहे।
यो प्रदर्शनपछि शेरले इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पाए। साथै उनले भारतमा हुने आइसिसी टी ट्वान्टी विश्वकपका लागि नेपाली टोलीमा पनि बलियो दाबेदारी दिएका छन्। लिगमा लगातार तीन हारपछि कप्तान रोहितले निकै आलोचना खेप्नु परेको थियो।
सुस्त ब्याटिङ गरेको र टिम नेतृत्वमा उनको अक्षमता रहेको भन्दै रोहितले आलोचना खेपे । ती आलोचनालाई उनले कुनै प्रतिक्रिया दिएनन्। आफ्नो अलराउन्ड प्रदर्शनबाट जबाफ दिए। सफल नेतृत्वबाट ‘अन्डरडग’ मानिएको लुम्बिनीलाई रोहितले च्याम्पियन नै बनाए। यही प्रदर्शनपछि उनी दोस्रो सिजनमा प्लेअर अफ दी टुर्नामेन्ट भए र कार पाउन सफल रहे। उनी सिजनमा सर्वाधिक (२७६) रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।

नेपालको तर्फबाट भने उनी सर्वाधिक रनकर्ता हुन्। विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा छन्। रोहितले बलिङबाट कुल १० विकेट लिए। रोहित सिजनकै उत्कृष्ट ब्याटर पनि भए। त्यसबापत उनले पुरस्कार पाए। यो सफतलाको श्रेय उनले सम्पूर्ण टिमलाई नै दिए।
‘१४० रनसम्म रोक्दा जित्छौं भन्ने विश्वास थियो। सबैले राम्रो बलिङ गर्यौं। शेर मल्ल र ट्रम्पलमेनले उत्कृष्ट बलिङ गर्दै राम्रो सुरुआत दिए। मेरो ह्याट्रिकपछि सुदूरपश्चिमको मिडल अर्डर थप दबाबमा पर्यो। ह्याट्रिक नै लिन्छु भन्ने कल्पना गरेको थिइनँ,’जितपछि रोहितले भने, ‘टिम इफोर्टकै कारण उपाधि सम्भव भयो। जुन हारबाट आयो, यो सहज थिएन।’
लुम्बिनी झन्डै लिगबाट नै बाहिरिनुपर्ने अवस्थामा थियो। तर, हारबाट लुम्बिनीले मनोबल गुमाएन। उल्टै लगातार ६ खेल जित्यो र च्याम्पियन नै बन्यो। सुदूरपश्चिमले पनि लिग र पहिलो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्यो। यसअघि सुदूरपश्चिमले एक मात्र हार लिगमा विराटनगरसँग बेहोरेको थियो। जुन खराब प्रदर्शन फाइनलमा पनि सुदूरपश्चिमले दोहोर्यायो।
सुदूरपश्चिमको खराब ब्याटिङ
सिजनभर उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम र पछिल्ला खेलमा लयमा रहेको लुम्बिनीबीच रोमाञ्चक उपाधि भिडन्त हुने अनुमान थियो तर फाइनल पूर्ण रूपमा पक्षीय बन्यो। टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय पनि खराब साबित भयो। किनकि त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८६ रनको झिनो लक्ष्य दियो। जुन लुम्बिनीले ९ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। पहिलो ओभरमै २७ रन जोड्दै लुम्बिनीले सहज जितको आधार बनाइसकेको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीको बलिङमा लुम्बिनीका ओपनर दिनेश अधिकारीले चार छक्का हिर्काउँदै उत्कृष्ट सुरुआत दिलाए। यसपछि सुदूपश्चिमले कसिलो बलिङ गरे पनि सफलता पाउन सकेन।
दिनेशले १३ बलमा ४२ रन जोडेर आउट भए। उनको इनिङमा एक चौका र पाँच छक्का रह्यो। अर्का ओपनर डार्सी सट ११ रनमा आउट भए। निरोसान डिकवेला ११ रनमा अविजित रहे। जितका लागि दुई रन आवश्यक हुँदा लुम्बिनीले लगातार दुई विकेट गुमाए पनि क्षति बेहोर्नु परेन। कप्तान रोहित १६ रनमा आउट भए। उनी र सन्दीप जोरा जितनजिक पुगेपछि आउट भएका हुन्।
सुदूरपश्चिमको बलिङमा हेमन्त धामीले दुई तथा अविनाश र दीपेन्द्रले समान एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुदेखि नै खराब सुरुआत गर्यो। सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा नै अलआउट हुन पुग्यो। ओपनर ईशान पाण्डेले ३३ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ५१ बल खेलेका उनको इनिङमा एक चौका मात्रै रह्यो।
कप्तान दीपेन्द्र १३, हरमित सिंह र स्कट कुग्गेलिन समान १० रन बनाएर आउट भए। अन्य ब्याटरले दोहोरो अंकमै रन बटुल्न सकेनन्। लुम्बिनीका कप्तान रोहितले ११औं ओभरको चौथोदेखि छैटौं बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र, दीपक बोहोरा र पुनित मेहरालाई आउट गर्दै ह्याट्रिक पूरा गरे।
च्याम्पियन लुम्बिनीले ट्रफीसँगै एक करोड १० लाख र सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाए। प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने, प्लेअर अफ दी टुर्नामेन्ट अविनाश बोहरा र सन्दीपले सर्वोत्कृष्ट बलरको पुरस्कार पाए। हारपछि सुदूरपश्चिमका प्रशिक्षक जगत टमटाले खेलाडीको प्रदर्शनका कारण नै यहाँसम्म आइपुगेको र आज खराब दिन नै रहेको प्रतिक्रिया दिए। अर्को सिजन सुदूरपश्चिम थप बलियो भएर आउने उनको विश्वास छ।
प्रकाशित: २८ मंसिर २०८२ ०७:१६ आइतबार





