२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

एनपिएल: लुम्बिनी लायन्स प्लेअफ पुग्ने चौथो टोली

एक खेल, तर चार टोलीका लागि प्रतीक्षा बनेको थियो, नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धा।

एनपिएलको दोस्रो सिजनमा बिहीबार नै प्लेअफ खेल्ने चार टोलीमध्ये तीन टोलीको टुङ्गो लागिसकेको थियो। त्यसैले अब एक स्थानका लागि प्रतिस्पर्धा बाँकी थियो। त्यो एक स्थानका लागि कर्णाली याक्सबाहेक बाँकी गणितीय रूपमा आफू अनुकूल नतिजाको पर्खाइमा थिए।

डिफेन्डिङ च्याम्पियन जनकपुर र लुम्बिनीसँगै पोखरा एभेन्जर्स र चितवन राइनोज पनि प्लेअफ पुग्ने आशामा थिए। लुम्बिनीको हारले प्लेअफमा होड लिगको अन्तिम खेल आइतबारसम्म लम्ब्याउन सक्थ्यो। त्यसैले जनकपुर लुम्बिनीलाई हराउने लक्ष्यसहित मैदानमा उत्रियो। चितवन र पोखरा भने लुम्बिनी पराजित हुने कल्पनामा थिए। तर, कीर्तिपुरमा नेपाली राष्ट्रिय टोलीको कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले बाजी मार्‍यो।

त्यो पनि पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै लुम्बिनी पहिलोपल्ट प्लेअफमा पुग्न सफल भयो। लिग चरणका तीन खेलअगावै प्लेअफ समीकरण पूरा भयो। लुम्बिनी लिगको अन्तिममा रहेर पहिलो संस्करण पूरा गरेको थियो। तर, यसपल्ट पहिलो जित निकाल्दै सुखद संकेत गर्‍यो। तथापि लुम्बिनी दोस्रो, तेस्रो र चौथो खेलमा लगातार पराजित हुन पुग्यो। यो नतिजपछि लुम्बिनी यसल्ट पनि खराब नतिजाको संघारमा देखिन्थ्यो। साथै राष्ट्रिय टोलीका कप्तान रोहितले यसबीच धेरै आलोचना पनि सामना गर्नुपर्‍यो। ती आलोचना रोहित आफैंले पनि सुनिरहेका थिए।  यद्यपि, त्यहाँबाट उनी विचलित भएनन्। आफ्नो टोलीमाथि विश्वास पनि राखे।

जनकपुर माथि शुक्रबार चार विकेटको जितसँगै प्लेअफमा पुगेपछि रोहितले पनि खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास राखेको बताए। ‘गत सिजन अन्तिममा थियौं। यसपल्ट आफूहरूलाई प्रमाणित गर्नुपर्छ भन्ने थियो। सुरुआत पनि राम्रै भयो। तर, लगातार तीन खेल हार्‍यौं। त्यसबीच धेरै आलोचना सुनेँ। यद्यपि, मलाई मेरो टोलीमाथि पूर्ण विश्वास थियो। सबैमा क्षमता छ भन्ने लाग्थ्यौं। मैदानमा त्यो प्रदर्शन आउँछ भन्ने पर्खाइमा थिएँ,’ रोहितले भने, ‘पछिल्ला दुई खेलमा सबैले राम्रो गर्‍यौं। आज महत्त्वपूर्ण क्षणमा सबैले पनि लय दोहोरिँदा सफल भएका छौं।’

जित्नैपर्ने खेलमा सफल हुँदै लुम्बिनी लायन्स एनपिएलको दोस्रो सिजनमा प्लेअफ पुग्ने चौथो टोली बन्यो। दुई सिजनमा गरेर अब प्लेअफमा नपुग्ने पोखरा मात्रै हो।  जनकपुरसँगै गत सिजनको प्लेअफका कर्णाली र चितवन त्यो सफलता दोहोर्‍याउन असफल भए। लुम्बिनीसँगै विराटनगर किङ्स र काठमान्डु गोर्खाज पहिलोपल्ट प्लेअफमा पुगेका हुन्।

जनकपुरको हारसँगै पहिलोपल्ट प्लेअफमा पुग्ने पोखराको लक्ष्य पनि पूरा हुन सकेन। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले अलराउन्ड प्रदर्शन गरे। उनी टोलीका सर्वाधिक रनकर्ता हुन् र दुई विकेट पनि लिए। यस प्रतियोगितामा नेपाली ब्याटर खासै चल्न सकेका छैनन्। विकेटकर्ताको सूचीमा नेपाली बलरले राम्रो प्रदर्शन गरिरहेका छन्।

किनकि सर्वाधिक विकेटकर्ताको सूचीको शीर्ष चारमा लगातार नेपाली बलर नै छन्। सन्दीप लामिछाने, अविनाश बोहोरा, साहब आलम र करण केसीको नाममा समान १२ विकेट छ। ब्याटिङमा भने शीर्ष तीन स्थानमा विदेशी खेलाडी नै छन्। चौथो स्थान (२०८ रन) मा कप्तान रोहित नै छन्। बलिङमा पनि उनको नाममा चार विकेट छ। त्यसैले लुम्बिनीको यो सफलतामा रोहितको भूमिका पनि महत्त्वपूर्ण छ। बलिङमा शेर मल्ल र ट्रम्पलमेनको उत्कृष्ट प्रदर्शन पनि लुम्बिनीको यो सफलताको आधार हो। शेरलाई त रोहित टोलीको ट्रम्प कार्ड नै भन्न रुचाउँछन्। उनले यो प्रदर्शन नकआउट चरणमा पनि जारी राख्ने विश्वास व्यक्त गरेका छन्।

साथै टोलीप्रति धेरै विश्वास राख्ने रोहितले प्लेअफमा सबैभन्दा बलियो लुम्बिनी रहेको भन्दै बलियो आत्मविश्वास पनि देखाए। बिहीबार नै सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा रहँदै एक खेलअगावै पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ। सोही दिन काठमान्डु गोर्खाज र विराटनगरले पनि प्लेअफ खेल्ने टुङ्गो लागेको थियो।

विराटनगर र सुदूरपश्चिम लिगको अन्तिम खेलमा शनिबार प्रतिस्पर्धा गर्दै छन्। यही खेलले नै पहिलो क्वालिफायर खेल्ने दोस्रो टोलीको टुङ्गो लाग्न सक्छ। विराटनगरको हारमा भने काठमान्डु पहिलो क्वालिफायरमा पुग्नेछ। विराटनगरले भने पहिलो क्वालिफायरमा स्थान बनाउन सुदूरपश्चिमलाई फराकिलो अन्तरले हराउँदै नेट रनरेटमा पनि सुधार गर्नुपर्नेछ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले एक सय ३३ रनको सामान्य लक्ष्य दियो। तर, त्यो लक्ष्य लुम्बिनीले १९.१ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान रोहितले ३४ रन बनाए। यो नै सर्वाधिक ठूलो योगफल रह्यो। ओपनर डार्सी सर्टले ३० रन जोडे। इनिङको पहिलो बलमै ओपनर सुमित महर्जन आउट हुँदा लुम्बिनीलाई ठूलो धक्का लाग्यो। तर, दोस्रो विकेटका लागि रोहित र ओपनर डार्सीबीच ६० रनको महत्त्वपूर्ण साझेदारी बन्यो। आठौं ओभरमा संगित कुरेले डार्सीलाई एलबिडब्लु सिकार गर्दै साझेदारी तोडे तर रोहितले तेस्रो विकेटका लागि निरोशान डिकवेलासँग २३ रनको साझेदारी बनाए।

१२औं ओभरमा रोहितसँगै लगत्तै सन्दीप जोरा आउट भएपछि लुम्बिनी दबाबमा पर्‍यो। मायन यादवले एलबिडब्लु सिकार बनाए। १८औं ओभरमा जेजे स्मित पनि २१ रनमा पभेलियन फर्किए। यो विकेटसँगै लुम्बिनी १७.५ ओभरमा १२१/६ को अवस्थामा पुग्यो तर सामान्य लक्ष्य पाएको लुम्बिनी जितनजिक पुगिसकेको थियो।

जनकपुरको बलिङमा संगिथले तीन तथा मायनले दुई र सञ्जय कृष्णमूर्थिले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने जनकपुरको निर्णय सही भएन। पूरै ओभरमा ६ विकेट गुमाउँदै जनकपुरले एक सय ३२ रनको योगफल बनाएको थियो।

जनकपुरको सुरुआत खराब रह्यो। तर, संगिथ कुरेले ४५ रनमा नटआउट रहे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। उनले सातौं विकेटका लागि मायन यादवसँग ४९ रनको अविजित साझेदारी गर्दै इनिङ उकासे। मायन २७ रनमा नटआउट रहे। संगिथले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे। २३ बल खेलेका मायनले समान एक चौका र छक्का हिर्काए। पावरप्लेमा ३६ रन मात्र जोड्दा जनकपुरले तीन विकेट नै गुमायो। पहिलो ओभरमै ओपनर माज सदाकत ६ रनमा आउट भए। त्यसपछि कप्तान अनिल साह पनि ७ रनमै पभेलियन फर्किए। पाँचौं ओभरमा अर्का ओपनर आसिफ शेख १७ बलमा २० रन जोडेर आउट भए। उनको इनिङमा दुई चौका र एक छक्का रह्यो।

शीर्ष क्रममा राम्रो साझेदारी बन्न नसक्दा जनकपुर दबाबमा पर्‍यो। संगितबाहेक मध्य क्रमका ब्याटरले पनि राम्रो गर्न सकेनन्। शुभ कंसाकार ११ र सञ्जय कृष्णमूर्थि १४ रनमा आउट भए। अनुभवी ब्याटर तथा कप्तान निकोल लफ्टी इटन खाता नै खोल्न सकेनन्।

लुम्बिनीका कप्तान रोहितले १४औं ओभरमा सञ्जय र लफ्टीलाई आउट गर्दै जनकपुरमाथि दबाब बनाए। १३.३ ओभरमा जनकपुर ८३/६ को कमजोर अवस्थामा पुग्यो। तर, सातौं विकेटका लागि संगिथ र मायनबीच महत्त्वपूर्ण साझेदारी बन्यो। यो जोडीले इनिङ समाले पनि सुस्त ब्याटिङ गरे र जनकपुर सामान्य योगफलमा नै रोकियो। लुम्बिनीको बलिङमा कप्तान रोहित र शेर मल्लले समान दुई तथा स्मित र रुबेन ट्रम्पलमेनले समान एक विकेट लिए। लुम्बिनीले ६ बलर प्रयोग गर्‍यो। शेर र तिलक भण्डारीले किफायती बलिङ गरे। समान चार ओभरमा शेरले २० रन र तिलकले १८ रन मात्र दिए।  

प्रकाशित: २० मंसिर २०८२ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App